“डुबान क्षेत्रका जनतालाई मार नपर्ने गरी मूल्याङ्कन हुन्छ ।”: दाहाल

“डुबान क्षेत्रका जनतालाई मार नपर्ने गरी मूल्याङ्कन हुन्छ ।”: दाहाल

काठमाडाैं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम द्रूतगतिमा अघि बढ्ने बताएका छन् ।

गोरखामा आयाेजित कार्यक्रममा मङ्गलबार गोरखा र धादिङको सिमानामा निर्माण गर्न लागिएको उक्त आयोजनाले राष्ट्रिय महत्व बोकेको भन्दै अध्यक्ष दाहालले त्यसलाई कुनै पनि हालतमा ढिलासुस्ती हुन नदिने बताए।

“म आफैँ प्रधानमन्त्री भएको बेलामा बूढीगण्डकी जलाशययुक्त आयोजना अगाडि बढाउनैपर्छ भनेर चिनियाँ कम्पनीसँग समझदारीपत्रमा सम्झौता गरेर निर्माण अगाडि बढाउन थालेको हो”, उनले भने, “केही ढिलाइ त भयो तर अहिले आयोजनाले विस्तारै गति लिँदैछ ।”

आयोजनाको डुबान क्षेत्रमा पर्ने र पूर्णरूपमा विस्थापित हुने प्रभावित क्षेत्रका जनतालाई मुअब्जा वितरणको काम ठिक ढङ्गले अघि बढेको भन्दै मुआब्जा निर्धारण हुन बाँकी रहेको क्षेत्रको पनि छिट्ट्रै मुआब्जा निर्धारण गर्ने तयारी भइरहेको अध्यक्ष दाहालले जनकारी दिए । यो आयोजना खाली विद्युत् निकाल्ने आयोजना मात्र  नभएर यसले नेपालको विकासका लागि दीर्घकालीन महत्व राख्नेसमेत बताए ।

आयोजना निर्माण गर्दा जनतालाई मर्का नपर्ने गरी सरकारले मुअब्जा वितरणको कामलाई अघि बढाएको उहाँले बताउनुभयो । “गाउँघर तथा शहरको घर र जग्गाको मूल्यको उचित मूल्याङ्कन सरकारले गर्छ”, अध्यक्ष दाहालले भने, “डुबान क्षेत्रका जनतालाई मार नपर्ने गरी मूल्याङ्कन हुन्छ ।” विशेषगरी गोरखाको मुख्य व्यापारिक केन्द्र आरुघाट बजार र धादिङको खहरे क्षेत्रको मुआब्जा निर्धारण बाँकी रहेको भन्दै उनले अब त्यसको पनि टुङ्गो लाग्ने बताए ।

अध्यक्ष दाहालले आयोजना गोरखा र धादिङ मात्र नभएर सम्पूर्ण नेपाली जनताको लागि महत्वपूर्ण आयोजना भएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्