कांग्रेसमा गुटगत स्वार्थका कारण आन्तरिक कलह तीव्र

कांग्रेसमा गुटगत स्वार्थका कारण आन्तरिक कलह तीव्र

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरुको गुटगत स्वार्थका कारण आन्तरिक कलह तीव्र बनेको छ। सभापति शेरबहादुर देउवाले पार्टीका विभाग र समिति गठन प्रक्रिया सुरु गरेसँगै कांग्रेसभित्रको विवाद फेरि बाहिर आएको हो।

पार्टीका समिति र विभागीय प्रमुखहरु आफूअनुकूल बनाउन सभापति देउवाका साथै असन्तुष्ट पक्षका रामचन्द्र पौडेलसहितका नेता सक्रिय हुँदा मंगलबारको केन्द्रीय समिति बैठक प्रभावित भयो। आइतबार मात्र पार्टी विधान बहुमतबाट पारित गराएका सभापति देउवाले मंगलबार अनुशासन र नियमावली मस्यौदा समिति गठनका लागि बिहान ११ बजे केन्द्रीय समिति बैठक बोलाएका थिए।

पूर्वतयारीअनुसार सभापति देउवा केन्द्रीय सदस्य भीष्मराज आङ्दम्बेको संयोजकत्वमा अनुशासन समिति गठन तयारीमा थिए। तर बैठक सुरु हुनु पहिला नै नेता पौडेल, कृष्णप्रसाद सिटौलासहितले अनुशासन समिति सहमतिबाट गठन गर्न सभापति देउवालाई आग्रह गर्नुका साथै बहुमतबाट निर्णय लिए बैठक बहिष्कार गर्ने चेतावनी दिए।

नेता पौडेल निकट केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले संस्थापन पक्षले बहुमतको आधारमा निर्णय गर्दै जाने हो भने बैठकमा सहभागी हुनु वा नहुनुको कुनै अर्थ नरहने दाबी गरे। ‘अनुशासन समितिसहितका महत्वपूर्ण विषयमा बहुमत र अल्पमतका आधारमा निर्णय लिने होइन, सहमतिबाट गर्नुपर्छ,’ जोशीले भने, ‘एउटा व्यक्तिको नाममा सहमति नजुटे अर्को व्यक्तिको नाममा सहमति हुन्छ तर पार्टीलाई चिराचिरा बनाउने काम कसैले पनि गर्नुहुँदैन।’ अनुशासन समितिमा सबैलाई सर्वस्वीकार्य व्यक्ति ल्याउनुपर्ने बताउँदै जोशीले भने, ‘तेरोमेरो होइन, व्यक्तिको क्षमता र योग्यता हेरर उचित जिम्मेवारी दिने परिपाटी बसाउनुपर्छ।’

असन्तुष्ट पक्षले अनुशासन समिति पार्टीको न्याय निरुपण गर्ने निकाय भएकाले सबैलाई मान्य हुने व्यक्तिलाई समितिको संयोजक बनाउनुपर्ने भन्दै आङ्दम्बेको नाम अस्वीकार गरेका थिए। त्यसका साथै असन्तुष्ट पक्षले अनुशासन र निर्वाचन समिति सहमतिका आधारमा एकैसाथ गठन हुनुपर्ने अडान राखेका थिए। बैठकमा सहभागी नहुने अडान राख्दै असन्तुष्ट नेताहरु पौडेलको कार्यकक्षमै भेला भएका थिए।

प्रतिक्रिया दिनुहोस्