हरवाचरवाले जमिन पाउँछ: श्रममन्त्री विष्ट

हरवाचरवाले जमिन पाउँछ: श्रममन्त्री विष्ट

काठमाडौं – हरवाचरवाको समस्या समाधान गर्न सरकार गम्भीर रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बताएका छन्। 

राष्ट्रिय दलित नेटवर्क र द फ्रिडम फण्डद्वारा मंगलवार श्रम मन्त्रालयमा आयोजित हरवाचरवा मुक्तिको घोषणा तथा पुनर्स्थापनाको सन्दर्भ विषयक राष्ट्रिय नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विष्टले संविधानले ग्यारेन्टी गरेका आधारभुत अधिकारबाट कोही पनि वञ्चित नहुने बताए। ‘छानो नभएकाले आवास, विरामीले उपचार, काम नपाएकाले रोजगार, पढ्न नपाएकाले शिक्षा, खान नपाएकाले खाद्य अधिकार पाउने व्यवस्था सरकारले गर्छ’, मन्त्री विष्टले भने, ‘यी आधारभुत अधिकारलाई आर्थिक र सामाजिक पक्षसँग जोड्ने कानुन समेत निर्माण गरेका छौं।’

आधारभुत तहको जीवनलाई माथि ल्याउन र पछि परेका विपन्न वर्गलाई सशक्तिकरण गर्न सरकार गम्भीर रहेको उनको भनाई छ। हरवाचरवाको ऋण मिनाहा, जमिन र आवासको व्यवस्था तथा बालबालिकाको शिक्षामा सरकारले ध्यान दिने भन्दै मन्त्री विष्टले कानुन बमोजिम न्यायोचित समाधान गर्ने प्रतिबद्धता जनाए। ‘सरकारले नीति र व्यवस्थामार्फत समाधान गर्छ’, उनले भने। 

अन्याय र विभेदमा परेका वर्गलाई माथि उठाउन सरकार अघि बढिरहेको भन्दै हरवाचरवाका माग सम्बोधन गर्न भूमिका खेल्ने स्पष्ट पारे। ‘देशभर एउटा परिवार पनि आवास र जमिन विना बस्ने अवस्थाको अन्त्य गर्छाैं’, उनले भने।  

राष्ट्रिय हरवाचरवा महासंघका अध्यक्ष दशरथनाथ मण्डलका अनुसार तराईका ८ जिल्लामा हरवाचरवा छन्। सिरहा, सप्तरी र धनुषामा बेलायतको फ्रिडम फोरमले हरवाचरवाको स्वतन्त्रता र सशक्तिकरणका लागि काम गरिरहेको छ।  

प्रतिक्रिया दिनुहोस्