इरानका विदेशमन्त्री जवाद जरीफले पदबाट राजीनामा

इरानका विदेशमन्त्री जवाद जरीफले पदबाट राजीनामा

काठमाडौं – इरानका विदेशमन्त्री जवाद जरीफले पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक सन्जाल इन्स्टाग्राममार्फत् राजीनामाको घोषणा गरेका हुन् । इरानको सरकारी समाचार एजेन्सी इरनाले जरीफको राजीनामाको पुष्टि गरेको छ ।

५९ वर्षीय जरीफले आफ्नो कार्यकालमा भएका गल्तीको माफी पनि मागेका छन् । जरीफले सन् २०१५ मा अमेरिकासँग भएको परमाणु सम्झौतामा मुख्य भूमिका खेलेका थिए । तर अमेरिकी राष्ट्रपति ट्रम्पले सो सम्झौता तोडेको घोषणा गरेका थिए ।

जरीफ संयुक्त राष्ट्रसंघमा इरानको लागि राजदूत पनि बनेका थिए । सन् २०१३ मा हसन रुहानी राष्ट्रपति चुनिएपछि उनी विदेशमन्त्री बनेका थिए ।

उनले आफ्नो राजीनामामा इरानी जनता र प्रशासनलाई धन्यवाद दिएका छन् तर राजीनामा दिनुपर्नाको कारण भने खुलाएका छैनन् । उनले इन्स्टाग्राममा लेखेका छन्, ‘म मेरो पदमा अब छैन । मेरो कार्यकालमा भएका गल्तीका लागि माफी माग्दछु ।’

यद्यपि राष्ट्रपति रुहानीले राजीनामा स्वीकृत गरे-नगरेको भने पुष्टि नभइसकेको बीबीसीले लेखेको छ ।

अमेरिकाले इरानसँगको परमाणु सम्झौता रद्द गरेपछि जरीफ इरानका कट्टरपन्थीहरुको निशानामा थिए । सम्झौतामार्फत इरानलाई आफ्ना परमाणु कार्यक्रमलाई सीमित गर्नु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्