के हुदैँछ मेलम्चीमा

के हुदैँछ मेलम्चीमा

काठमाडौं – इटालियन कम्पनी कोअपरेटिभा मुराटोरी ई केमेन्टिस्टी (सीएमसीसँग) ठेक्का तोडिएपछि बाँकी काम कसरी सम्पन्न गराउने भन्ने विषयमा विवाद भएपछि मेलम्ची खानेपानी आयोजना हाल अन्योलमा छ । खानेपानी मन्त्री विना मगर सीएमसीलाई फिर्ता बोलाएर पुनः काममा लगाउने पक्षमा उभिँदा कर्मचारी संयन्त्र भने यसमा असहमत मात्रै छैन, विरुद्धमा नै छ ।

यही असमतिका कारण खानेपानी सचिव गजेन्द्र ठाकुरलाई सुरुवा गराएर मन्त्री मगरले दीपेन्द्रनाथ शर्मालाई मन्त्रालय ल्याएकी छन् । आइतबार मात्रै मन्त्रालयमा हाजिर भएका शर्माले अहिलेसम्म मेलम्ची विकास समिति बैठक डाकेका छैनन् । सम्भवतः सचिव शर्माले समितिमा मन्त्रीकै लाइनबाट सीएमसीलाई फिर्ता ल्याउन प्रस्ताव ल्याउनेछन् ।

नयाँ प्रक्रियामा जाँदा फेरि लामो समय काठमाडौंमा मेलम्ची नआउने तर्क गर्दै मन्त्री मगरले पुरानै कम्पनीलाई पुनः काममा ल्याउन कसरत गरिरहेकी छिन् ।

तर, कानुन विपरीत भन्दै उनको प्रयासमा कर्मचारीले साथ दिएका छैनन् । कर्मचारी मात्रै नभएर मेलम्ची खानेपानी विकास समितिमा रहेका केहीले पनि मन्त्रीको कदमलाई ठीक मानेका छैनन् ।

विकास समितिका एक सदस्य आफूहरु कानुनविरुद्ध गएर सीएमसीलाई फिर्ता ल्याउन तयार नहुने बताउँछन् । ‘कानुनी प्रक्रिया अनुसार ठेक्का तोडिसकियो, अब सीएमसीलाई समितिले निर्णय गरेको भरमा फिर्ता बोलाउन सकिँदैन,’ ती सदस्य भन्छन्, ‘यदि बोलाउनै भए सबै जोखिम लिएर मन्त्रिपरिषदबाटै विशेष निर्णय गरियोस् ।’

मेलम्ची खानेपानी आयोजनाका अधिकारीहरु पनि मन्त्रीले दिएको दबावका भरमा निर्णय गराउने पक्षमा छैनन् । कानुनसंगत हिसावले मन्त्रिपरिषद बैठकबाटै सीएमसीको ३१ बुँदे शर्त सम्बोधन गर्ने र कामममा फर्काउने निर्णय भएर आफूहरुले सीएमसीलाई नरोक्ने उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्