सिरहाका एक युवकको भारतीय भूमिमा गोलि हानि हत्या

सिरहाका एक युवकको भारतीय भूमिमा गोलि हानि हत्या

आलोक यादव , सिरहा – महिना दिन नबित्दै फेरि सिरहाका एक युवकको भारतीय भूमिमा हत्या भएको छ। सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर – ६ मोथियाही गाउँका १७ वर्षीय सुभाष यादवलाई भारतको खुटाैनामा  गोली हानी हत्या गरिएको हो।

यसअघि माघ तेस्रो साता सिरहाकै लाहान नगरपालिकाका २४ वर्षीय गजेन्द्र यादवको भारतको पिपराही चर्खाहीमा कुटपिटपछि हत्या भएको थियो। 
फेरि एकपटक त्यस्तै घटना दोहोरिन गएको छ।

मंगलबार घरबाटै बेपत्ता भएका सुभाष यादव घाइते अवस्थामा बुधबार भारतको मधुमनी जिल्लाको खुटौनामा भेटिएका थिए। स्थानीय र भारतीय सुरक्षाकर्मीको सहयोगमा उनलाई उपचारका लागि दरभंगा लगिएको थियो। त्यहाँ पनि उपचार सम्भव नहुँदा पटना पुर्‍याइएको थियो। पटनामा उपचारको क्रममा बिहीबार उनको मृत्यु भएको हो। उनीमाथि तीन गोली प्रहार भएको प्रहरीले बताएको छ।

भारतीय अस्पतालमै पोष्टमार्टम गराई परिवार जनलाई शुक्रबार भारतीय सुरक्षाकर्मीले शव बुझाएका थिए। पीडित परिवारले सिरहा प्रहरीमा पनि किटानी जाहेरी दिन लाग्दा उनलाई फेरी पोष्टमार्टम गराउन धरान पठाइएको थियो।

शनिबार उनको दाहसंस्कार भएको छ। मृतकको बुबा वैदेशिक रोजगारमा साउदी गएका छन्। घटनापछि आमा पटक–पटक बेहोस भइरहँदा आफन्तजनले उपचारका लागि अस्पताल भर्ना गराएका छन्।              

उस्तै घटना सिरहाको लहान नगरपालिका वडा नम्बर – २४ का ३५ वर्षीय गजेन्द्र यादव पनि सोही तरिकाले बेपत्ता भएका थिए। माघ १८ गते बेपत्ता भएका उनको शव दुईदिन पछि भारतको पिपराही चर्खाहीमा फेला परेको थियो। मृतक यादवको अनुहारमा ढुँगा, इँटाले प्रहार गरेको निलडाम देखिएको थियो। उनले प्रयोग गरेको मोटरसाइकल र मोबाइल भने फेला परेन।       

माइत आएकी दिदी अनिता यादवलाई घर पुर्‍याउन यादव स ८ प ८४२७ नम्बरको सेतो कलरको अपाचे मोटरसाइकलमा दक्षिणवर्ती गाउँ गेरुवाहा गएका थिए। दिदीलाई पुर्‍याएपछि लहान फर्किएका गजेन्द्र बेखबर भए। आफन्तले इलाका प्रहरी कार्यालय लहानमा खोजीका लागि निवेदन दिएका थिए। त्यही दिन लहान बजारमा गाउँलेले यादवलाई एक्लै देखेको बताएका छन्।                                                             

यी दुवै घटनाको प्रकृति एउटै देखिएको छ। दुवैको हत्या भारतीय भूमिमा भएको थियो। दुवै हत्याको कारण अहिलेसम्म नखुलेको प्रहरीको भनाइ छ। अनुसन्धानमा कठिनाइ हुने र आफू सजिलै बच्ने मानसिकताले अपराधीले पारी गएर अपराध गर्ने गरेको स्रोतले बतायो। दुवै घटनाको जाहेरी प्रहरीमा दर्ता भएको छ 

प्रतिक्रिया दिनुहोस्