सरकारको घोषणालाई साकार गर्न सिन्डिकेटरहित यातायात महासंघ

सरकारको घोषणालाई साकार गर्न सिन्डिकेटरहित यातायात महासंघ

फागुन ११, काठमाडौं । नेपाल सरकार, गृह मन्त्रालयको पहलमा सवारी ऐन २०४९ संशोधन भई यातायात क्षेत्रमा व्याप्त सिन्डिकेटको अन्त्य गरिएपछि यातायात व्यवसायीहरुलाई करको दायरा ल्याउन कम्पनी मार्फत सरकारले व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको थियो । व्यवसायीहरुले भने झन्झटिलो भन्दै सरकारको यो निर्णयलाई मान्न आनकानी गरिरहेका छन् । तर व्यवसायीहरुको यहि भावना र असजिलोपनलाई मध्येनजर गरि यातायात प्रा.लि.हरुको छाता संगठनको रुपमा रहने गरि सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपाल को स्थापना भएको छ ।


आज राजधानीको बुद्धनगरमा “सार्वजनिक यातायात क्षेत्रका विद्यमान समस्या र समाधान” विषयक प्रथम राष्ट्रिय गोष्ठी तथा अन्तरक्रिया कार्यक्रममा महासंघका अध्यक्ष होम प्रसाद घिमिरेले कुनै पनि सिन्डिकेटजन्य गतिविधि नगर्ने र यात्रुहरुलाई उच्चस्तरको सेवा प्रदान गर्ने प्रतिवद्धतासहित देशभरबाट १११ यातायात कम्पनीहरु महासंघमा सुचिकृत भएको र धेरै कम्पनीहरुले सुचिकृत हुन इच्छुक रहेको जानकारी दिएका हुन् । यस्तै, महासंघका उपाध्यक्ष कृष्ण बहादुर तिमल्सिना खत्रीले एकातिर यात्रुहरु लुटिएको गुनासो अर्कोतिर यातायात व्यवसाय टिकाउनै मुस्किल पर्ने र राज्यसँग जायज माग राख्न पनि पहुँच नपुग्ने अवस्था रहेकोले यस्तो परिस्थिति आउन नदिन पनि यातायात कम्पनीहरुले महासंघमा आवद्ध हुनु पर्ने तर्क भनाई राखे ।


सो कार्यक्रममा सुर्खेतबाट प्रतिनिधिसभामा निर्वाचित नवराज राउत र यातायात व्यवस्था विभागका पूर्वमहानिर्देशक शरदचन्द्र अधिकारी, जनकवि भोला बराल लगायतका वक्ताहरुले सरकारले सिन्डिकेट पूर्णरुपमा समाप्त पारेर यातायात क्षेत्रमा व्याप्त विकृतिको अन्त्य गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा महासंघका महासचिव गणेश उप्रेतिले कार्यपत्र प्रस्तुत गर्दै सिन्डिकेटरहित यातायात सेवाले अहिलेसम्मकै उत्कृष्ट सेवा तथा सुविधा दिने ठाकुवा गरेका थिए । कार्यपत्रमाथि टिप्पणी राखेका अधिवक्ता मनिस कुमार श्रेष्ठले कानुनी रुपमै सिन्डिकेट खारेज भईसके पनि त्यसका अवशेषहरु कायम रहेको भनाई राखे ।


महासंघले कम्पनीका कागजात अद्यावधिक गर्नेदेखि विमा लगायत दुर्घटनाका मुद्धाहरुमा पनि सहजीकरण गर्ने जनाइएको छ ।

(तस्विरहरु 🙂

प्रतिक्रिया दिनुहोस्