समायोजन पुरा भएपछि नयाँ भर्ना प्रक्रिया सुरु गर्ने, मन्त्री लालबाबु

समायोजन पुरा भएपछि नयाँ भर्ना प्रक्रिया सुरु गर्ने, मन्त्री लालबाबु

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन पुरा भएपछि नयाँ भर्ना प्रक्रिया सुरु गर्ने बताएका छन् । 

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले नवनियुक्त राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृतको ३३ औँ आधारभूत प्रशासन प्रशिक्षणको समापन समारोहमा उनले समायोजन प्रक्रिया सकिएलगतै नयाँ कर्मचारी भर्ना गरिने बताए । 

‘लोक सेवा आयोगलाई पनि हामीले नयाँ कर्मचारी भर्ना प्रक्रिया शुरु गर्न तयारी अवस्थामा बस्न भनेका छौँ’, उनले भने, ‘‘समायोजन सकिएलगतै १५ देखि २० हजारसम्म कर्मचारीको नयाँ भर्ना सुरु हुनेछ ।’

मन्त्री पण्डितले कर्मचारी समायोजन विधेयकको संसदबाट सर्वसम्मत पारित गरेको बताउँदै उनले यही महिनाभित्र प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवासँग जोडिएका मापदण्ड संसदमा पेश गर्ने बताए । उनले प्रशासनमा भएको विसङ्गति र विकृति पूर्णरुपमा हटाउनेसमेत बताए । उनले मन्त्रालयका सबै काम प्रविधिबाट समेत गर्ने जानकारी दिए । 

‘यसपटक समायोजनको काम प्रविधिबाट भएको छ । अब सबै कुरा सफ्टवेयरबाट काम गर्दैछु,’ उनले भने, ‘सरुवा प्रणाली पनि सफट्वेयरबाट विकास गर्न लागेको छु ।’

प्रतिक्रिया दिनुहोस्