सिरहाको सुखीपुरमा पोखरीको विवादमा झडप हुँदा ११ घाइते, प्रहरीले चलाए ५ राउण्ड गोली

सिरहाको सुखीपुरमा पोखरीको विवादमा झडप हुँदा ११ घाइते, प्रहरीले चलाए ५  राउण्ड गोली

सिरहा –  सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर -२ विद्यानगरस्थित सिकिया पोखरीको विवादमा दुई समूहबीच झडप भएको छ ।

झडपमा ११ जना घाइते भएका छन् । प्रहरीले झडप नियन्त्रणमा लिन ५ राउण्ड हवाइ फायर र लाठी चार्ज गरेको छ । विवादले उग्ररुप लिएपछि नियन्त्रणमा लिन हवाइ फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।

पोखरी सुखिपुर नगरपालिकाले ठेक्का लगाएको हो । तर उक्त पोखरी स्थानीय सिकिया मण्डलका आफ्न्त सुशिल मण्डलको स्वामित्वमा रहेको छ । पोखरीमा ठेकेदार पक्षका व्यक्तिले माछा मार्न पुगेपछि भएको विवाद उग्ररुप लिँदा झडप भएको प्रहरीको भनाई छ ।
झडपमा पोखरी दावी गर्ने मण्डल परिवार तर्फका ९ जना र ठेकेदार पक्षका २ जना घाइते भएका छन् । स्थानीय भरोषी मण्डल, सकल मण्डल, दिनेश मण्डल, शुनिल मण्डल, मिन्टु मण्डल, विष्णु मण्डल, विनोद मण्डल, राम बाबु मण्डल र श्याम कुमार मण्डल घाइते भएका छन् । उनीहरु मण्डल परिवार पक्षका छन् भने ठेकेदार पक्षका रमेश कुमार यादब घाइते भएको प्रहरीले जनाए ।

घाइतेहरुको उपचार स्थानीय अस्पतालमा भइरहेको छ । प्रहरीले हस्तक्षेप गरेपछि अहिले घटना साम्य बनेको स्थानीयले बताएका छन् । घटनास्थलमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्