कोरियन भाषा पास गर्ने टिप्सहरु – प्रशिक्षक भिम प्रसाद दाहाल

कोरियन भाषा पास गर्ने टिप्सहरु – प्रशिक्षक भिम प्रसाद दाहाल

मोरङ रोजगार अनुमति प्रणाली अन्तर्गत दक्षिण कोरियाको नवौं भाषा परीक्षा आगामी जेठ २६ र २७ गते हुने भएको छ । सानो लगानी गरेर ठुलो आम्दानी गर्न सकिने भएकाले कोरियाको क्रेज दिन प्रतिदिन बढ्दै गइरहेको छ । लगानी सानो भए पनि मेहनत धेरै ठुलो गर्नु पर्नेहुन्छ । भाषा सिक्नका लागि सेल्फ स्टडी भन्दा पनि कक्षा लिंदा धेरै आइडिया लिन सकिन्छ । त्यसैले भाषा सिक्दा राम्रो इन्सिच्युट रोज्नु पनि विद्यार्थीको पहिलो बुद्धिमतापूर्ण निर्णय हुन्छ । दक्ष भाषा प्रशिक्षक र संस्थाको खोजी गर्नुपर्छ । इन्सिच्युटमा कस्ता भाषा प्रशिक्षक छन्, कति वर्ष कोरिया बसेर आएको हो र यसअघि संस्थाले कति प्रतिशत रिजल्ट ल्याएको हो, एउटा कक्षामा कति जना बिद्द्यार्थीहरु राखेर पढाउछन् जस्ता कुराहरु राम्रोसँग बुझ्नु पर्छ ।  तोकिएको पाठ्यक्रममा पढाइ हुन्छ कि हुँदैन भनेर पनि याद गर्नुपर्छ । केही इन्सिच्युटको नियत अहिले कमाउने मात्रै देखिँदा विद्यार्थीको समय र लगानी त्यसैखेर जाने पनि गरेको छ । फेरि क्लासकै भरमा मात्रै भाषा परीक्षा पास भइन्छ भन्ने सोचियो भने त्यो मूर्खता हुन्छ । आफ्नो लगनशीलता नै त्यसपछिको मुख्य हतियार हो ।

सबै भन्दा महत्वपूर्ण कुरा त शब्दार्थ घोक्नतर्फ लाग्नुपर्छ । सुरु-सुरुमा शब्दार्थ नघोकी सुखै छैन । त्यसपछि भने अडियो सुन्ने र भाषा नै बोल्ने अभ्यास नै कोरियन सिक्ने सबैभन्दा सरल उपाय हो । कोरियन भाषाका लागि परीक्षा आउनुअघिको दुई महिना सबैभन्दा महत्वपूर्ण हुन्छ । बसमा चढ्दा पनि कोरियन भाषाका मोबाइलमार्फत अडियोहरु सुनेर हिँड्नुपर्छ । टीभी हेर्दा पनि कोरियन फिल्महरु हेर्नुपर्छ । यसका लागि इन्टरनेटको पनि प्रयोग गर्न सकिन्छ । युट्युबमा पनि कोरियन भाषा सिक्ने विभिन्न भिडियो तथा अडियोहरु उपलब्ध हुन्छन् । कोरियन फिल्म तथा गीत सुनेर पनि भाषालाई सुधार्न सकिन्छ ।  मोबाइल एप्समार्फत पनि तपाईं कोरियन भाषा सिक्न सक्नुहुन्छ ।

धेरैले कोरियन भाषा परीक्षामा सबैभन्दा अप्ठेरो सुनेर चिन्ह लगाउनुपर्ने परीक्षालाई मान्छन् । विशेष गरी उच्चारण ख्याल गर्न नसक्दा धेरै विद्यार्थीहरु यसमा चुक्छन् । आफ्ना साथी भाइ, आफन्तसँग पनि भेट्दा सकेसम्म कोरियन भाषा बोल्न प्रयास गर्नुपर्छ । हतारमा जानेकै प्रश्नको उत्तर पनि गलत भइदिन सक्छ । हतारमा लतारपतार हुन नदिन विद्यार्थी निकै सजग हुनुपर्छ । यसको मतलब डराउने हैन । अत्माविश्वास लिएर चनाखो हुने बानीको विकास गर्नुपर्छ । यो परीक्षामा उत्तर लेख्नु नपर्ने भएकाले धेरै हतार गर्नुपर्दैन । तर, समयको ख्याल भने गर्नैपर्छ । अर्को महत्वपूर्ण कुरा, परीक्षामा प्रश्नको उत्तरको संरचना र बनोट लगभग एकै प्रकृतिको हुन्छ । विशेष ‘लिसनिङ’मा उस्तै उस्तै उच्चारण भएका शब्दसहित उत्तरहरु राखिन्छ । त्यसले नै परीक्षार्थीलाई धेरै कन्फ्युज गर्छ ।

कोरियाकै मानव संशाधन विभागले परीक्षामा सीट सेटिङ गर्छ । एउटै ‘रो’ र बेञ्चमा बसेकालाई पनि प्रश्न नम्बर फरक-फरक पारेर प्रश्नपत्र वितरण गरिएको हुन्छ । समग्रमा एउटै प्रश्नहरु राखिए पनि प्रश्न नम्बरहरु फरक-फरक राखिएको हुन्छ । परीक्षामा पनि निकै कसिलो ब्यवस्थापन गरिएको हुन्छ । त्यसैले चिटिङको कुनै सम्भावना नै हुँदैन । कोरियाले कम्प्युटर प्रणालीबाट कपी जाँच्ने भएकाले कसैलाई आर्थिक प्रलोभनमा पारेर भाषा परीक्षा पास हुन सकिँदैन । भाषा परीक्षा पास भएका सबैले कोरिया जान पाउँदैनन् । त्यसैले आफ्नो काम र पढाईलाई ब्यवस्थापन गर्दै भाषा बढ्नुपर्छ ।  मेरो तर्फबाट सबैलाई शुभकामना । धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्