प्रदेशसभा सचिवालय र मन्त्रालयहरुले गाडी किन्दा ५७ लाख घोटाला !

प्रदेशसभा सचिवालय र मन्त्रालयहरुले गाडी किन्दा ५७ लाख घोटाला !

बुटवल – प्रदेश ५ को सार्वजनिक लेखा समितिले प्रदेशसभा सचिवालय र मन्त्रालयहरुले गाडी किन्दा प्रचलित मूल्यभन्दा ५७ लाख रुपैयाँ बढी खर्च भएको निश्कर्ष निकालेको छ ।

शुक्रबार बसेको समितिको बैठकले गाडी खरिदबाट प्रदेश सरकारलाई ५७ लाख घाटा लागेको निश्कर्ष निकाल्दै उक्त रकम प्रदेश सरकारको सञ्चित कोषमा जम्मा गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

गाडी बिक्री गर्ने कम्पनीले प्रचलित बजार मूल्य भन्दा २५ देखि २९ प्रतिशतसम्म बढी रकम असुल गरेको खुलेको सभापति डिल्लीबहादुर चौधरीले जानकारी दिए ।

सार्वजनिक खरिद ऐनमा भएको त्रुटिको गलत फाइदा उठाउँदै कम्पनीले बढी मुनाफा कमाउने उद्देश्यले सर्वसाधारण, मन्त्रालय र प्रदेशसभा सचिवालयलाई फरक फरक मूल्यमा गाडी बिक्री गरेको भन्दै समितिले ऐन संशोधनको आवश्यकता पनि औंल्याएको छ ।

समितिले प्रदेशसभा सचिवालय र मन्त्रालयहरुले गाडी खरिद गर्दा पर्याप्त ध्यान नपुर्‍याएको भन्दै नियतमाथि पनि प्रश्न उठाएको छ ।

लेखा समितिले ५७ लाख रुपैयाँ सञ्चित कोषमा फिर्ता गर्नुपर्ने भने पनि कसैलाई पनि कारबाहीको सिफारिस चाहिँ गरेको छैन । समितिले आफ्नो प्रतिवेदन भने माघ २९ गते प्रदेशसभामा पेश गर्ने भएको छ ।

गाडी खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन अगाडि बढाइसकेकाले समितिले विस्तृत अध्ययन नगरेको सभापति चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस्