श्रीमती हत्या आरोपमा थुनामा रहेका एक पुरुषले कारागार भित्रै आत्महत्या

श्रीमती हत्या आरोपमा थुनामा रहेका एक पुरुषले कारागार भित्रै आत्महत्या

दोलखा – श्रीमती हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका दोलखाको कालिञ्चोक गाउँपालिकाका एक पुरुषले कारागार भित्रै आत्महत्या गरेका छन् । कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ लापिलाङ घर भएका २४ वर्षीय च्याङा शेर्पाले गएराती चरिकोट कारागारभित्रै झुण्डिएर आत्महत्या गरेका हुन् ।

अदालतको आदेशपछि शेर्पालाई हिजो मात्रै पुर्पक्षका लागि कारागार चलान गरिएको थियो । शेर्पाले कारागारभित्रै शौचालयको झ्यालमा जुत्ताको लेसमा झुण्डिएर आत्महत्या गरेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) बासुदेव पाठकले जानकारी दिनुभयो । मध्यराति शेर्पा शौचालय गएको र लामो समयसम्म नफर्किए पछि खोजतलास गर्दा साँढे १२ बजे शेर्पालाई शौचालयको झँयालमा झुण्डिएर मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

शेर्पालाई दोलखा प्रहरीले पौष २० गते कर्तव्य गरी श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ गरेको थियो । पक्राउ पछि २४ दिन प्रहरी हिरासतमा रहेका उनलाई हिजो मात्रै प्रहरीले अनुषन्धान पुरा गरी जिल्ला अदालतमा बुझाएको छ । शेर्पाकी श्रीमती लक्की भनिने सर्किनी शेर्पा पुस १६ गते चरिकोट स्थित आफ्नै कोठामा सलको पासो लगाई मृत अवस्थामा फेला परेकी थिईन् ।

मृतक शेर्पाको सवलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा राखिएको छ । श्रीमती हत्या अभियोगमा कारागार चलान भएकै दिन आत्महत्या

प्रतिक्रिया दिनुहोस्