२५ वर्षीया महिलाको शंकास्पद मृत्यु, झुण्डिएको अवस्थामा शव

२५ वर्षीया महिलाको शंकास्पद मृत्यु, झुण्डिएको अवस्थामा शव

राजविराज सप्तरीको डाकनेश्वरी नगरपालिका– ३ मा एक २५ वर्षीया महिलाको शंकास्पद मृत्यु भएको छ । रुखमा पासो लगाएर झुण्डिएको अवस्थामा उनको शव भेटिएको हो । 

पुरुषको मफलर (गलबन्दी)को पासो लगाई आँपको रुखमा झुण्डिएको अवस्थामा शनिबार डाकनेश्वरी–३ तरही बस्ने ललितादेवी साहको शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएलगत्तै घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय कल्याणपुरले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । इन्स्पेक्टर बिष्णुप्रदीप बस्यालले मृतकका श्रीमान शंकर साह, देवर राजकुमार साह र ससुरा रामदेव साह फरार रहेकोले थप शंका बढेको बताएका छन् ।

पासो लागेर झुण्डिएको अवस्थामा फेला परेको ललीताको शवको घाँटीमा डोरीको निलडाम बाहेक अन्य चोटपटक नदेखिएको तर परिवारका सदस्यहरु फरार भएकाले शंका लागेको बताए । पोष्टमार्टमले धेरै कुरा स्पष्ट हुने र अनुसन्धानमा सहयोग पुग्ने बताएका इन्स्पेक्टर बस्यालले घटनाको सुक्ष्म अनुसंधान भईरहेको बताए । 

हत्या गरी आत्महत्या देखाउन रुखमा झुण्ड्याइएको आरोप माइती पक्षले लगाएको छ । मृतककी आमा कैलीदेवी साहले घरपरिवारका सदस्यहरुले नै हत्या गरेर झुण्ड्याएको आरोप लगाइन् । 

शरीरमा लागेको चोटपटक, रुखको हाँगामा हत्केलाले समाएको र पासोको अवस्था हेर्दा हत्यापछि नै रुखमा झुण्ड्याएको मृतकका भाई विकासकुमार साहले दावी गरे ।

घरदेखि एक किलोमिटर पश्चिमतर्फ रहेको आँपको रूखमा झुण्डिएको शवसँगै दोस्रो हाँगामा चाबीको गुच्छा र अर्को हाँगामा मोवाइलको कभर खोल फेला परेपछि घटना थप रहस्यमय देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्