‘सानो मन’ मा आयुष्मान र शिल्पा

‘सानो मन’ मा आयुष्मान र शिल्पा

काठमाडौं – सुयोग गुरुङको निर्देशनमा फिल्म ‘सानो मन’ निर्माण हुने भएको छ। म्युजिकल लभस्टोरी जनरामा निर्माण हुने फिल्मको माघ ७ गतेबाट छायांकन सुरु हुँदैछ। माघेसंक्रान्तिको अवसरमा राजधानीमा फिल्मको निर्माण घोषणा गरिएको हो।

‘सानो मन’ मा अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको जोडी बाँधिएको छ। यसअघि शिल्पाले ‘कागजपत्र’ र ‘द ब्रेकअप’ मा काम गरिसकेकी छन्। आयुष्मानले ‘सानो मन’ फिल्म आफूले धेरै अगाडि साइन गरेको बताए। शिल्पाले पनि दुई वर्षअगाडि आफू लन्डनमा हुँदा फिल्मको स्क्रिप्ट सुनिसकेको बताइन्।

फिल्मको घोषणासभामा आयुष्मान भने, ‘मेरो क्यारेक्टरको नाम निर्वाण हो। फिल्मको स्टोरी नर्मल छ, मीठो छ, छोटो छ र राम्रो छ।’ अभिनेत्री शिल्पाले भने स्क्रिप्ट मन परेका कारण फिल्म छाड्न नसकेको बताइन्। उनी यस फिल्ममा सानियाको भूमिकामा देखिनेछिन्।

काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायांकन हुने फिल्मका निर्माता योगेश गुरुङ, राजीव श्रेष्ठ र राजेन्द्र मानन्धर हुन्। फिल्म ओपीजी फिल्मस् र ए प्लस इन्टरटेन्मेन्टको ब्यानरमा बन्नेछ। गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारको पनि यसमा अभिनय रहनेछ।

प्रतिक्रिया दिनुहोस्