आबुधाबीमा १ सय ५० जना नेपाली अलपत्र

आबुधाबीमा १ सय ५० जना नेपाली अलपत्र

युएई – यूएईको आबुधाबीमा १ सय ५० जना नेपाली अलपत्र परेका छन् । आबुधाबीको अल वासिता क्याटरिङ्ग एमीरेट्स कम्पनीमा कार्यरत उनीहरु अलपत्र परेका हुन् । कम्पनीका सञ्चालक जोर्डनका नागरिक युएई छोडेर भागेको र कम्पनीको व्यवस्थापकका लापरबाहीका कारण कम्पनीका झन्डै ७ सय जना कामदार अलपत्र परेका हुन् । तीमध्ये डेढ सयजना नेपाली छन् ।

राजधानी आबुधाबीदेखि झन्डै २८ किलोमिटर टाढा रहेको मुसाफा ४० नम्बर मजदुर क्याम्पमा उनीहरु अहिले अलपत्र अवस्थामा छन् । कम्पनीमा कार्यरत नेपालसहित भारत, बाङ्लादेश, पाकिस्तान श्रीलंकालगायत देशका झन्डै ७ सय जना कामदार अहिले समस्यामा परेका हुन् ।

‘एउटै कोठामा २१ जनासम्म सुतिरहेका छौँ, क्याम्पको दोस्रो तल्लामा नेपालीहरु छौँ’ कन्चनपुरका गणेश सिंह महराले भन्नुभयो, ‘कतिपय क्याम्पभन्दा बाहिर साथीभाइको सहयोगमा बसिरहनुभएको छ ।’ बिरामी हुँदा उपचार गर्नसमेत नपाएको पीडितहरुको भनाइ छ ।

कम्पनीमा १८ महिनादेखि झन्डै ५ वर्षसम्म काम गरेका उनीहरुमध्ये धेरैले गएको ९ महिनादेखि तलब पाएका छैनन् । ‘केहीले ९ महिना र अरुले ६ महिनाको तलब पाएका छैनौं’ कम्पनीमा ५ वर्ष पहिलेदेखि कार्यरत नवलपरासीका मिनबहादुर जिसीले बताउनुभयो ।

अलपत्रमध्ये ६४ जना १८ महिना पहिले युएई आएका वीरगन्जका मकुन पट्टेलले बताउनुभयो । १८ महिना पहिले आएकाहरुले पनि ९ महिनादेखि तलब पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्