समायोजन भएका कर्मचारीलाई देशभर बढुवाको अवसर

समायोजन भएका कर्मचारीलाई देशभर बढुवाको अवसर

काठमाडौं – निजामती सेवा र स्वास्थ्य सेवाबाट समायोजन भएका कर्मचारीहरु देशभरका सबै रिक्त पदमा बढुवाको सम्भाव्य उम्मेदवार हुन पाउने भएका छन् । तर, सरुवा भने देशभर हुने छैन ।

संघीय निजामती सेवा ऐनको मस्यौदामा अन्तर सेवामा प्रतिस्पर्धा गर्न सबै स्थानीय तह र सबै प्रदेशका कर्मचारीहरुले पाउने व्यवस्था गरिएको छ ।

बढुवाका लागि सम्भाव्य उम्मेदवार निजामती सेवाबाट समायोजन भएका कर्मचारीहरु निजामती सेवाकै लागि मात्र बढुवा हुनेछन् । त्यस्तै स्वास्थ्य सेवाबाट समायोजन भएका कर्मचारीहरु स्वास्थ्य सेवाकै माथिल्लो पदमा मात्र बढुवा हुन पाउनेछन् । तर, समायोजन भएर प्रदेश वा स्थानीय तहमा गएका कर्मचारीहरु सरुवा भएर संघमा फर्किने बाटो भने प्रस्तावित मस्यौदाले बन्द गरिएको छ ।

समायोजन भएर प्रदेश वा स्थानीय तहमा जाने कर्मचारीहरुको मुख्य माग नै निश्चित सेवा अवधिपछि संघमा पनि सरुवा भएर आउन पाउनुपर्छ भन्ने छ । कर्मचारीहरुले आफ्ना माग पूरा गराउन दबावमूलक गतिविधि गर्दै आएका छन् ।

तर, संघीय निजामती सेवा ऐनको मस्यौदामा समायोजन भएका कर्मचारीहरुको सरुवा स्थानीय तहबाट प्रदेश वा प्रदेशबाट केन्द्रमा हुने प्रावधान राखिएको छैन ।

सरकारले हालै ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था बनेको विधेयक’को मस्यौदा तयार पार्ने काम गरिरहेको छ । अति गोप्य भनिएको उक्त विधेयकको परिच्छेद ४ मा ‘सरुवा र काज’को व्यवस्था छ । त्यसमा समायोजन भएर गएका कर्मचारीहरु संघमा फर्किने बाटो खुलाइएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्