एक लाख पर्यटक भित्र्याउने लक्ष्यसहित फिक्कलमा माघ २ देखि महोत्सव हुँदै

एक लाख पर्यटक भित्र्याउने लक्ष्यसहित फिक्कलमा माघ २ देखि  महोत्सव हुँदै

पुष २६ काठमाडौँ । सिन्धुलीको पर्यटकीय स्थल जिल्लाकै सबैभन्दा अग्लो फिक्कल डाँडालाई विश्वसामू चिनाउन यही माघ २ देखि महोत्सव आयोजना गर्न लागिएको फिक्कल गाउँपालिकाका अध्यक्ष धनबहादुर कार्कीले  नेपाल पर्यटन बोर्डमा पत्रकार भेटघाट कार्यक्रम राखिएको जानकारी दिएका छन् ।

महोत्सवका मुख्य आकर्षणहरुमा स्थानीय कच्चा पदार्थबाट निर्मित बाँस, काठ, दुग्धजन्य बस्तु तथा अल्लोका कपडाहरुको प्रदर्शनी, गाउँपालिका भित्रका मौलिक उत्पादनहरुको प्रतियोतात्मक प्रर्दशनी, कृषिजन्य उत्पादनको प्रदर्शनी, वितिय संस्था तथा अन्य सेवामुलक संघरसंस्थाहरुको सेवाबारे जानकारी, प्याराग्लाईडिङ्ग, र्याफ्टिङ्ग लगायत रहेका छन् । महोत्सवमा आउनेहरुलाई जिल्लाकै अग्लो डाडा फिक्कल, जिल्लाकै अग्लो ठाउँमा रहेको खेल मैदान रचने थामको अबलोकन गराउने ब्यवस्था गरिएको अध्यक्ष कार्कीले बताए ।

महोत्सवले फिक्कल गाउँपालिकामा रहेका संभावित क्षेत्रहरु कृषि, जलश्रोत, पर्यटन, जडिबुटीआदि क्षेत्रको जानकारी तथा प्रचार प्रसार गर्ने, स्थानीय उत्पादनको प्रचार, प्रसार, विक्रि एवं प्रबर्धन गर्न साझा, औपचारिक एवं अल्पकालिन वजार उपलब्ध गराउने, विभिन्न जातजातिका सांस्कृतिक पक्षहरुको प्रचार प्रसार गर्ने, स्थानीय स्तरमा गरिएको किवी खेती र आलु पकेट क्षेत्रको दृश्यावलोकन गराउने, गाउँपालिका क्षेत्र भएर वग्ने सुनकोशी नदीमा र्याफ्टिङ गराउने उदेश्य महोत्सवले लिएको गाउपालिका उपाध्यक्ष पार्वती सुनुवारले बताइन् ।

धार्मिक तथा प्राकृतिक विशेषतायुक्त फिक्कललाई पर्यटकीयस्थलको रुपमा स्थापित गराई आन्तरिक र वाह्य पर्यटक प्रबर्धन गर्न यस गाउँपालिकाको नाम फिक्कल राखिएको गाउँपालिका उपाध्यक्ष तथा महोत्सव आयोजक समिति संयोजक पार्वती सुनुवारले बताईन् । फिक्कलको पर्यटकीय महत्वलाई प्रबर्धन गर्न सके गाउँपालिकाको आर्थिक र सामाजिक समृद्धि गर्न सकिने उनको दावी छ ।

मेलामा गाउँपालिका भित्रका जातजातिका विविधताको प्रदर्शन, सुुनुवार, राई, र मगर जातिको झाँकी तथा नृत्य प्रदर्शन, बाम्ह्रण जातिको भजन प्रदर्शन, ख्याति प्राप्त कलाकारहरु बीच दोहोरी गीत कार्यक्रम र सर्कसहरु रहने छन् । त्यस अवसरमा उद्योग, पर्यटन, कृषि सम्वन्धि अन्तरकृया कार्यक्रमसमेत राखिएको उपाध्यक्ष सुनुवारले बताइन् ।फिक्कलको उत्तरतिर रहेको महाकाली देवीस्थान नजिकमा रहस्यमय प्राकृतिक गुफाहरु छन् । आसपासका वन जंगलमा बहुमूल्य जडिबुटी पाईने स्थानीय बासिन्दासमेत रहेका पत्रकार उज्ज्वल पहाडीले जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्