वाइड बडी जहाज खरीद प्रक्रियामा मेरो संलग्नता छैन : मन्त्री अधिकारी

वाइड बडी जहाज खरीद प्रक्रियामा मेरो संलग्नता छैन : मन्त्री अधिकारी

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीद प्रक्रियामा नीतिगत नेतृत्वबाहेक संस्थागत प्रक्रियामा कानूनीरूपमा कुनै पनि भूमिका नहुने भएकाले आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट गरेका छन् ।

सो विमान खरीदका विषयमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा छानविन जारी रहेका बेला आफूले जिम्मेवारी सम्हालेपछि मन्त्रालयका समग्र प्रगतिसहित विमान खरीदबारे उठेका प्रश्नको जवाफ दिँदै सोमबार उनले अनियमितताका विषयमा छानविनका लागि आफूले पनि सघाउने बताए ।

मन्त्री अधिकारीले आफू मन्त्री हुनुपूर्व नै खरीद सम्झौतामा भुक्तानीको कार्यतालिका नेपाल वायुसेवा निगमबाट तय भएको स्थितिमा तेस्रो किस्ता रकम दिन रोक्का गरेको भए समयमा जहाज नआउने र हालसम्म भुक्तानी गरिएको रु नौै अर्ब जोखिममा पर्नसक्ने उल्लेख गरे।

मन्त्रालयका सचिव तथा जिम्मेवार पदाधिकारीसहित पत्रकारसामु उनले प्रतिप्रश्न गर्दै भने, “उक्त रकम जोखिममा परेको भए वा जहाज समयमा नआएको भए यसको जिम्मेवार को हुने थियो ? र यसको जवाफ कसले दिन्थ्यो ? यसबाट न जहाज आउने न रकम आउने अवस्था सिर्जना भई निगम तत्काल टाट पल्टिने अवस्था आउने थियो, जो म गर्न सक्दैन थिएँ ।”

उनले आफूले मन्त्रालयको जिम्मेवारी सम्हाल्नुअघि नै सर्वाेच्च अदालतबाट सो खरीद प्रक्रिया रोक्न नपर्ने फैसला दिएको, महालेखा परीक्षकले प्रक्रियामा प्रश्न उठाए पनि रोक्न नभनेको र त्यसबीचमा लेखा समितिले कुनै निर्देशन नदिएको दावी गरे।

प्रतिक्रिया दिनुहोस्