कस्तो हुँदैछ १२औँ चितवन महोत्सव तयारी

कस्तो हुँदैछ  १२औँ चितवन महोत्सव तयारी

चितवन – चितवन महोत्सवमा सधैँ केही न केही फरकपन दिने गरेका छौँ । दुईतिर घेरेर माथि सामान्य छाना राख्ने र स्टल बनाउनेजस्ता परम्परागत शैलीबाट हामीमाथि उठ्न खोजेका छौँ । हामीले टिन प्रयोग नगरी वाटर प्रुफ कपडा प्रयोग गरेर हेर्दा फरक र आकर्षक देखिने गरी स्टल राख्ने तयारी गरेका छौँ । हामीले हरेक महोत्सवमा चितवनको कुनै एक व्यवसायलाई प्राथमिकता दिने गरेका छौँ ।

हामीले कहिले पर्यटनको प्रतिनिधित्व गर्ने गैँडाको आकृतिलाई प्राथमिकता दियौँ भने कहिले केराखेतीलाई महŒव दिँदै केराको आकृति बनायौँ । यसपटक माछापालनको प्रवद्र्धनको उद्देश्यले हामीले महोत्सवपरिसरमा बालुवामा कुँदिएको २० फिट लम्बाइ र १० फिट चौडाइको माछाको कलात्मक आकृति राख्ने भएका छौँ । त्यो माछा पानीमा तैरिरहेको जस्तो देखिनेछ ।

त्यस्तै हामीले नेपालमै पहिलोपटक कृत्रिम चिडियाखाना पनि तयार गर्दै छौँ । यसमा चितवनमा पाइने तथा अन्य अन्तर्राष्ट्रिय जनावरको प्रतिमालाई राख्नेछौँ । यो केही हदसम्म गतिशील पनि हुन्छ । जस्तै, गोहीको मुख खुल्ने र बन्द हुने हुन्छ । पुच्छर हल्लिन्छ । त्यस्तै हामीले चितवनमै पहिलोपटक मेड इन नेपाल परिसर राखेका छौँ । त्यहाँ नेपालमा उत्पादन भएका वस्तु मात्र प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछ ।

चितवन १७ विभिन्न जनजातिको बसोवास रहेको जिल्ला हो । हामीले महोत्सवमा त्यसमध्ये ४ वटा जनजातिको वेशभूषा लगाएर तस्बिर खिच्ने व्यवस्था मिलाएका छौँ । जुनसुकै उमेर र उचाइका मानिसले पनि ती वेशभूषामा तस्बिर खिच्न सक्नेछन् । महोत्सव अवलोकन गर्न आउनेका लागि सेल्फी स्पट पनि बनाएका छौँ । चितवन महोत्सवको सम्झना त्यो सेल्फीले लामो समयसम्म दिनेछ । त्यस्तै, मुख्य प्रवेशद्वार प्रवेश गर्नेबित्तिकै चितवनको आकृति बनाएर त्यसलाई एउटा बगैँचाको रूप दिएका छौँ ।

प्रवेशद्वार करिब ८० फिट उचाइ र २० फिट चौडाइको छ र त्यसको दुईतिर ठूला हात्तीका प्रतिमूर्ति रहेका छन् । हामी तयारीको करिब अन्तिम चरणमा पुगेका छौँ । यो महोत्सवलाई चितवन मात्र नभई चितवनभन्दा बाहिरका उत्पादनको प्रवद्र्धन गर्ने थलोका रूपमा विकास गर्दे आएका छौँ । यहाँ देशैभरबाट आउने उत्पादकलाई आफ्नो उत्पादनका बारेमा जानकारी दिने यो उपयुक्त थलो हुनेछ । त्यस्तै भर्खरै उत्पादनको क्षेत्रमा प्रवेश गरेका व्यवसायीले सस्तो मूल्यमा यहाँबाट धेरै प्रतिफल प्राप्त गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्