शिक्षकले विद्यार्थीलाई कुटेर घाइते

शिक्षकले विद्यार्थीलाई कुटेर घाइते

सल्यान – सल्यानमा एक विद्यालयमा शिक्षकले विद्यार्थीलाई कुटेर घाइते बनाएको अभिभावकले आरोप लगाएका छन् ।

सलयनको बागचौर नगरपालिका २ थारमारेमा रहेको जनकल्याण नमुना माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र विशाल बस्नेतलाई शिक्षकले कुटेर घाइते बनाएको वस्नेतका परिवारले आरोप लगाएका हुन् ।

बुधबार दिउँसो १२ बजेतिर विद्यालयको प्राङ्गनमा वस्नेत र अर्का एक विद्यार्थीबीच सामान्य झगडा हुँदा सहायक प्रधानध्यापक तुलसीराम बस्नेत र अर्का शिक्षक यामबहादुर घर्तीले कुटपिट गरेको विद्यार्थीका बुबा तेजबहादुर बस्नेतले बताउनुभयो ।

शिक्षकको कुटाइबाट बेहोस भएका छोरालाई श्रीनगरस्थित कान्तिपुर सामुदायिक अस्पतालमा उपचार गरेपछि होस खुलेको छात्रका बुवा बस्नेतले बताउनुभयो । शिक्षकको कुटाइबाट आफ्नो पेट, टाउको, र छातीमा चोट लागेको विद्यार्थी बस्नेतले बताउनुभयो ।

घाइते विद्यार्थीको टाउकोमा चोट लागेको र उनको अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ । विद्यालयले भने शिक्षकले विद्यार्थीलाई कुटेर घाइते भएको आरोप निराधार भएको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्