२०१८ मा विश्वमा भएका प्रमुख राजनीतिक घटना

२०१८ मा विश्वमा भएका प्रमुख राजनीतिक घटना

काठमाण्डौँ । २०१८ मा विश्वमा भएका प्रमुख राजनीतिक घटनाको समीक्षा गर्ने जमर्को यहाँ गरिएको छ ।

ट्रम्प र किमबीचको शिखर सम्मेलन
विश्व राजनीतिमा सबभन्दा प्रभाव राख्ने घटना जुन महिनामा सिंगापुरमा सम्पन्न सम्मेलन रह्यो । वर्षको आरम्भमा एकअर्काविरुद्ध कठोर बयान दिएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनले अनपेक्षित रूपमा हृदय परिवर्तन गरे अनि शिखर वार्ता गरे । जम्मा पाँच घन्टा चलेको उक्त वार्तामा ठोस उपलब्धि त केही हासिल भएन तर दुई देशबीचको तिक्ततालाई हटाउन चाहिँ सहयोग पुर्‍यायो ।

किम र ट्रम्पबीचको शिखरवार्ता दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनको सत्प्रयासबाट सम्भव भएको हो । किमले मूनसँग न्यानो सम्बन्ध बनाएर दक्षिण कोरियामा सम्पन्न शीतकालीन ओलम्पिकमा आफ्ना खेलाडीलाई भाग लिन पठाए । मून र ट्रम्पसँगको वार्तापछि किमले वाचामुताबिक आणविक परीक्षणस्थल नष्ट पनि गरे । सन् २०१९ मा उत्तरको आणविक निःशस्त्रीकरण प्रक्रियामा ठोस प्रगति हुने अपेक्षा गर्न सकिन्छ तर अमेरिकासँग उत्तर कोरियाको वार्ता अड्किएकाले यो प्रक्रिया अघि बढाउन निकै मेहनत गर्नुपर्ने देखिन्छ ।

मानवीय संकट गहिरियो

भेनेजुएला र यमनमा पहिलेदेखि नै चलिरहेको मानवीय संकट यो वर्ष गहिरिएको छ । विगत चार वर्षमा लगभग २३ लाख भेनेजुएलालीहरू देश छोडेर भागिसकेका छन् । देशमै रहेकाहरूले आर्थिक संकटको सामना गर्नुपरिरहेको छ र खानलाउन पनि नपाउने स्थिति छ । राष्ट्रपति निकोलास मदुरोले अर्थतन्त्रलाई सही गति दिन सकेनन् । उनले मे महिनामा भएको विवादास्पद निर्वाचनमा विजय हासिल गरे तर विपक्षी दलहरूले त्यसलाई मान्यता दिएनन् ।

त्यस्तै यमनमा अमेरिकाको समर्थन प्राप्त साउदी अरबको गठबन्धनले चलाएको युद्ध पनि चौथो वर्षमा प्रवेश गर्‍यो । संयुक्त राष्ट्रसंघले यमन युद्धलाई विश्वकै सबभन्दा खराब मानवीय संकट भनेको छ । यमनमा युद्धका क्रममा लगभग १४ हजारजनाको मृत्यु भएको छ भने युद्धका कारण आएको भोकमरीमा परी ५० हजारजना मरेका छन् । भोकका कारण हड्डी किक्लिक्क देखिएका बालबालिकाको तस्वीरले विश्वको मुटु हल्लाएको भए पनि युद्धरत पक्षले युद्धविराम गरेका छैनन् । तर युद्ध अन्त्य गर्ने प्रयासहरू भने चलिरहेका छन् । सन् २०१९ मा युद्ध अन्त्य हुने अपेक्षा गर्न सकिन्छ ।

जमाल खशोग्गीको हत्या

अक्टोबर २ तारिखमा साउदी पत्रकार जमाल खशोग्गीलाई टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावास कार्यालयमा वीभत्स हत्या गरियो । दूतावासमा आफ्नो विवाहको कागज मिलाउन गएका खशोग्गी गायब भएपछि साउदीहरूले अनेक कथा रचे र उनको बेपत्तामा आफ्नो हात नरहेको देखाउन खोजे । तर टर्की अनि विश्व समुदायको निरन्तर आलोचनापछि अन्ततोगत्वा साउदीले खशोग्गीको हत्यामा आफ्ना अधिकारीहरूको हात रहेको स्वीकार गर्‍यो ।

टर्कीका जासूसी निकाय, सीआईए तथा पत्रकारहरूले खशोग्गीको हत्यामा साउदी युवराज मोहम्मद बिन सलमानको भूमिका रहेको बताएपनि अमेरिकी राष्ट्रपति ट्रम्पले बिन सलमानलाई यस घटनामा सफाइ दिए । खशोग्गीले बिन सलमानको निरन्तर आलोचना गरेर लेखहरू प्रकाशित गरिरहेकाले बिन सलमानले नै उनको हत्या गराएका हुन् भन्ने अनुमानले बल पाएको हो । यो हत्यापछि पश्चिम र साउदीबीचको सम्बन्धमा असहजता आएको छ ।

इरान सम्झौताबाट हट्यो अमेरिका

ट्रम्पले राष्ट्रपति निर्वाचनका बेलामा इरानसँगको आणविक सम्झौताबाट अमेरिकालाई निकाल्ने प्रतिज्ञा गरेका थिए र यसै वर्ष त्यो प्रतिज्ञा पूरा गरे । अमेरिकाका साझेदारहरूले उनलाई त्यसो नगर्न भने पनि उनले अटेरी गर्दै इरान सम्झौताबाट पछि हटे र इरानमाथि कठोर आर्थिक प्रतिबन्ध लगाए ।

इरानसँग सम्झौता गर्ने युरोपेली मुलुकले चाहिँ अमेरिकाको बाटो पछ्याएनन् र उनीहरूले अमेरिकी प्रतिबन्धका कारण अप्ठ्यारोमा परेको इरानलाई सहयोग गरिरहेका छन् । तर इरानलाई सहयोग गर्ने देशलाई समेत दण्ड दिने भनी ट्रम्पले घोषणा गरेकाले युरोपेली मुलुकसँग अमेरिकाको मतभेद बढ्ने सम्भावना देखिएको छ ।

अमेरिका र चीनबीच व्यापारयुद्ध

ट्रम्पले अमेरिका आयात हुने वस्तुहरूमा कर लगाउने निर्णय लिएर धेरै देशलाई चिढ्याए । चीनसँग त उनले व्यापारयुद्ध नै छेड्दै ५० अर्ब डलर बराबरका चिनियाँ आयातमा कर थोपरे र त्यो करको परिमाण बढाउँदै लगे । चीनले पनि प्रतिशोधस्वरूप अमेरिकी सामानमाथि आयातकर लगायो ।

तर ट्रम्पको आयातकरले चीनलाई भन्दा अमेरिकालाई अप्ठ्यारोमा पारिदियो र अमेरिकाको व्यापारघाटा झन् बढ्यो । अमेरिकी किसानहरूले विदेशी बजारमा आफ्नो उत्पादन बेच्न पाएनन् र अमेरिकी उद्योगीहरूले रोजगारीमा कटौती गर्नुपर्ने स्थिति आयो । यस्तो स्थिति आएपछि ट्रम्प प्रशासनले आयातकरमा पुनर्विचार गर्दै युरोपेली संघबाट आउने सामानमा आयातकर हटायो । अनि नोभेम्बर महिनामा ट्रम्पले चीनसँग ९० दिनको व्यापार युद्धविराम गरे ।

पश्चिम झनै कमजोर

पश्चिमका प्रमुख देशहरू यो वर्ष निकै कमजोर देखिए । बेलायतमा ब्रेक्जिटको सम्झौता दिशाहीन अवस्थामा अड्किएको छ । प्रधानमन्त्री टेरिजा मेले प्रस्ताव गरेको ब्रेक्जिट सम्झौतालाई उनकै पार्टीका सांसदले विरोध गरिरहेका छन् भने विपक्षीहरू पनि त्यसमा सहमत छैनन् । ब्रेक्जिट नै हुन्छ कि हुँदैन भन्नेमा शंका छ ।

अनि अर्को प्रमुख देश फ्रान्समा राष्ट्रपति इम्मानुएल म्याक्रोंले इन्धनमा कर बढाउँदा त्यसको हिंस्रक विरोध भयो । पहेंलो ज्याकेट लगाएका प्रदर्शनकारीहरूले गरीब जनताको जीवनयापनमै समस्या परेको अनि राष्ट्रपति म्याक्रों धनीहरूको पक्षमा रहेको भन्दै उनको राजीनामा मागे । बाध्य भएर म्याक्रों सरकारले इन्धनको करवृद्धि फिर्ता लिनुपर्‍यो । उनले फ्रान्सको अर्थतन्त्रलाई आमूल सुधार गर्ने महत्त्वाकांक्षी योजनालाई अघि बढाउन सकेनन् ।

अनि अन्य युरोपेली मुलुकको कुरा गर्दा इटलीमा लोकरञ्जनवादीहरूको सरकार बन्यो र त्यसले आप्रवासीहरूप्रति कठोर कदम चाल्यो । पश्चिमी विश्वको नेतृत्व लिने अपेक्षा गरिएकी जर्मन चान्सलर अंगेला मर्कलले आफ्नो पार्टीको पराजयपछि अध्यक्ष पदबाट राजीनामा दिइन् र अब अर्को कार्यकालका लागि चान्सलर पदमा नलड्ने घोषणा गरेकी छन् ।

यसबाहेकका प्रमुख घटनामा दुई अफ्रिकी मुलुक इथियोपिया र इरिट्रियाबीचको शान्ति सम्झौताले १२ वर्षदेखिको युद्ध अन्त्य गरेको घटना, रुसले अजोभ समुद्रमा युक्रेनको डुंगामा कब्जा जमाएको घटना, अमेरिकाले जेरुसेलममा दूतावास खोल्ने काम, भारतमा सत्तारूढ दल भारतीय जनता पार्टीले विभिन्न राज्यका विधानसभा निर्वाचनमा भोगेको पराजय, अमेरिकाको तल्लो सदनमा विपक्षी डेमोक्रेटिक पार्टीको विजय, जलवायु परिवर्तनका कारण विश्वले भोगेको समस्याका बारेमा चेतावनी, इन्डोनेसियामा निरन्तर प्राकृतिक प्रकोप लगायत छन् ।

प्रतिक्रिया दिनुहोस्