शुक्रबार बाट सिन्धुली महोत्वस तामझामका साथ

शुक्रबार बाट सिन्धुली महोत्वस तामझामका साथ

पुष , १५ सिन्धुली । तामझामका साथ शुक्रबार देखि सिन्धुलीमाढीमा महोत्सव शुरु भएको छ । तर सिन्धुली अस्पतालमा उपचारकालागि आएका बिरामीलाई भने महोत्सवले दुख थपिदिएको छ । महोत्वसकालागि भनेर अस्पताल रोडमा कुनै पनि सवारीसाधन चल्न नदिदाँ उपचारकालागि आएका बिरामी हिड्दैँ अस्पताल पुग्नु परेको छ ।शुक्रबार संघीय सरकारका अर्थमन्त्री युवराज खतिवडा महोत्सव उद्घाटनकालागि महोत्सवस्थलसम्म पुग्न शान्तिनगर हुदैँ सिन्धुली अस्पताल देखि जिल्ला विकास समितिको कार्यालयसम्म कुनै पनि सवारीसाधन चल्न दिइएको थिएन ।

सडक अवरोध हुँदा उपचारकालागि भनेर आएका बिरामीलाई भने सास्ती भएको थियो । आफ्नो छोरीको उपचारकालागि कनपा–५ मधुटारका सुवाष मगरलाई सिन्धुली अस्पतालसम्म पुग्न झण्डै डेढ घण्टा लाग्यो । उनले दुखेसो पोख्दै भने, ‘१५ मिनेटमै अस्पताल पुगिएला भनेको डेढ घण्टा भन्दा बढि लाग्यो । महोत्सवको बेला बजारक्षेत्रमासधैँ ट्राफिक व्यवस्थापनमा समस्या हुने भयो ।’दश दिने महोत्सव अवधिभर अस्पताल आसपासका सडक अवरोध हुदा बिरामीहरुलाई प्रत्यक्ष रुपमा असर पुग्ने देखिन्छ । त्यसैगरि, महोत्सवभर ध्वनि प्रदुषणले पनि बिरामीहरुलाई उत्तिकै सताउने भएको छ । झण्डै १०० मिटरको दुरीमा रहेको सिन्धुली अस्पतालको प्रवेशद्धार नजिकै महोत्सव स्थल रहेकाले ध्वनि प्रदुषणले अस्पतालका बिरामी झन् मारमा पर्ने भएका छन् ।

अस्पताल वरिपरी ध्वनी प्रदूषण र सडक अवरोध गर्न पाईँदैन । तर, जिल्ला प्रशासन कार्यालयले ध्वनि प्रदुषण लगायत बिरामीको स्वास्थ्य अवस्थामा पुग्ने असरको बारेमा आयोजकसँग केरकार नगर्दा ध्वनि प्रदुषणबाट बिरामी प्रभावित हुने भएका छन् ।सिन्धुलीमा आयोजना हुने हरेक पटकको महोत्सवमा जिल्ला अस्पतालका बिरामीलाई ध्वनि प्रदुषण र यात्रा मुख्य समस्या बन्ने गरेको छ । जिल्लाको प्रशासक, आयोजक, राजनैतिक दल लगायत जिम्मेवार निकायले महोत्सवको सकारात्मक पक्षलाई मात्र हेर्ने र नकारात्मक पक्षलाई नजरअन्दाज गर्दा सर्वसाधरणले समस्या भोग्नुपरेको छ ।

प्रतिक्रिया दिनुहोस्