१० लाख घुस लिने प्रहरी निरीक्षक अख्तियारको फन्दामा

१० लाख घुस लिने प्रहरी निरीक्षक अख्तियारको फन्दामा

नवलपरासी। सवारी ज्यान मुद्दा मिलाउन १० लाख घुस खाएको आरोपमा गैंडाकोट नवलपुरका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) कार्वाहीमा परेका छन् ।

सवारी ज्यान मुद्दामा १० लाख घुस लिएर नक्कली चालक खडा गरेको प्रमाण फेला परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय टोलीले इलाका प्रहरी कार्यालय गैंडाकोट नवलपुरका प्रमुख प्रहरी निरीक्षक लोकबहादुर जिसीलाई मंगलबार पक्राउ गरी अनुसन्धान थालेको हो ।

उनीविरुद्ध १० लाख रुपैयाँ लिएर सवारी ज्यान मुद्दामा चालक फेरेको प्रमाणसहित उजुरी परेको थियो । सवारी दुर्घटनामा एक जनाको मृत्यु र अर्का गम्भीर घाइते भएको घटनामा जिसीले चालक फेरेर दोषीलाई उन्मुक्ति दिएको उजुरीमा उल्लेख छ । घटनाको विषयलाई लिएर प्रहरी निरीक्षक जिसीले उल्टै पीडित पक्षलाई हप्कीदप्की गरेको प्रमाण फेला परेको अख्तियारले जनाएको छ ।

आयोगका अनुसार वैशाख ११ मा बोधराज पाण्डेले चलाएको जिपले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो । पूर्व–पश्चिम राजमार्गमा राति ११ बजे भएको घटनाको अनुसन्धानमा प्रहरी निरीक्षक जिसीले बेइमानी गरेको पीडित पक्षको भनाइ छ ।

निरीक्षक जिसीले मोटरसाइकल चालक गम्भीर घाइते र पछाडि बस्ने महिलाको मृत्यु भएकाले चालकको पहिचान नुखल्ने भन्दै १० लाख खाएर पाण्डेको साटो किसुन महतोलाई नक्कली चालक बनाएर उभ्याएका थिए । महतोको सवारी चालक अनुमति पत्र छ भने दुर्घटनाको बेला सवारी चलाउने बोधराज लाइसेन्सविहीन हुन् ।

प्रतिक्रिया दिनुहोस्