सुर्खेतमा २२ वटा गाईको सामूहिक हत्या,चालकसहित ५ ट्रक नियन्त्रणमा

सुर्खेतमा २२ वटा गाईको सामूहिक हत्या,चालकसहित ५ ट्रक नियन्त्रणमा

चालक भन्छन्, ‘कर्मचारीले छोड्दे भनेर छोडेको’

सुर्खेत। नेपालगञ्ज उप–महानगरपालिका–११ बेतहनीमा रहेको काञ्जिहाउसबाट ल्याईएका ३७० वटा गाई दैलेखको श्रीस्थान लैजाने क्रममा सुर्खेतको कटकुवामा छोडिएको छ। ऐतिहासिक धार्मिक स्थलका रुपमा चिनिने श्रीस्थान लैजाँदै गर्दा सुर्खेतको कटकुवामा छोडिएका मध्ये १६ वटा गाई मृत अवस्थामा छन् भने, ७ वटा गाई गम्भिर विरामी अवस्थामा छन्।

घटनास्थलमा हेर्दा मरिसकेका केही गाई ओरालेको भएपनि अधिकांश गाई जवरजस्ती ढंगले गाडीबाट ओराल्ने क्रममा मृत्यु भएको देखिन्छ। अधिकांश मृत गाईहरु भिरबाट खसालिएको छ भने, केही सडकमै छोडिएको छ। अधिकांश गाईको अवस्था दयनीय छ।

वीरेन्द्रनगर–१४ कटकुवाका स्थानीय लोकबहादुर रामजालीका अनुसार राति करिब ३ बजेतिर छोडेको हुनसक्ने बताए। ‘झण्डै राति तीन बजेतिर हो। म सुतिरहेको थिए। बारीमा एक्कासी आवाज आएपछि म उठेर हेर्दा गाईमात्रै,’ उनले भने, ‘त्यहाँ दायाँ बाँया हेरे यो गाई कसले किन ल्याएको भन्दै हेरेँ कसैलाई देखिनँ।’

चालकसहित ट्रक नियन्त्रणमा

यसरी विचबाटोमै गाई छोडेर फर्कने क्रममा बबईबाट पाँच वटा ट्रकसहित चालक प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

‘हामीले विहान ८ बजेमात्रै खबर पाएका थियौँ। त्यसलगत्तै स्वयं घटनास्थलमा पुगेर हामीले खोजतलास र अनुसन्धानको काम भइरहेको छ। ’प्रहरी नायव उपरीक्षक (डिएसपी) रवि रावलले भने, ‘गाई छोडेर फर्कदैँ गरेका दुई वटा ट्रकसहित चालक बबईबाट र तीन वटा ट्रकसहित चालक छिन्चुबाट नियन्त्रणमा लिएका छौँ।’ नियन्त्रणमा लिएका ट्रकमध्ये ना. ५ ख. १०१५, ना. ६ ख. ४९४९, ना. ६ ख. ९१७७, ना. ६ ख. ९९०५ नम्बरका ट्रक रहेका छन्। एउटा ट्रक भने विग्रिएकाले बीचबाटोमै रहेको प्रहरीले जनाएको छ।

डिएसपी रावलका अनुसार गाईलाई दैलेख पठाउन उप–महानगरपालिका नेपालगञ्ज मार्फत जिल्ला प्रशासन कार्यालय बाँकेले पत्रका आधारमा ल्याएको हो। ‘उप–महानागर पनि संलग्न रहेको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले एउटा पत्र काटेको पाईएको छ। जसका आधारमा गाई दैलेख ढुवानी गर्न लागिएको बुझिन्छ,’ उनले भने, ‘विभिन्न चेक पोष्टमा भएको ईन्ट्रिले पनि त्यो देखाउँछ।’

प्रहरीका अनुसार अहिले करिव डेढ सय वटा फेला परे पनि अझै धेरै हुन सक्ने अनुमान छ। नेपालगञ्जबाट दुई सय ९१ वटा ल्याएको देखिएपनि अहिले घटनास्थलमा भने करिव डेढ सय फेला परेको प्रहरीले जनाएको छ। ‘अहिलेसम्म करिव डेढ सय मात्रै फेला परेका छन्। हाम्रो खोजी जारीनै छ। बीचबीचमा छोडेको हुनाले हामीले संकलन गर्दै तथ्यांक संकलन गर्ने काम गरिरहेका छौँ।’ डिएसपी रावलले भने,‘कहि कतै बीच बाटोमा पनि छोडेको हुन सक्ने देखिन्छ। त्यसैले हामीले खोजी गरिरहेका छौँ।’

लापरवाही कसको?

नेपालगञ्ज उप–महानगर र जिल्ला प्रशासन कार्यालय बाँकेको लापरवाहीलेनै यो घटना हुन सक्ने अनुमान गरिएको छ। नियन्त्रणमा लिएका चालकले पनि आफुहरुसँगै रहेका उप–महानगरपालिकाका कर्मचारी रहेको बताएका थिए। अनौपचारिक कुरामा किन छोडेको भन्ने जिज्ञासामा प्रहरी कार्यालयभित्र रहेका एक चालकले भनेका थिए,‘हामीले के गर्नु साथमा कर्मचारी थिए। उनले छोड्दे भनेर त्यही छोडेको हो।’ उनका अनुसार गाई लिएर आएको ट्रकसँगै उप–महानगरपालिकाका कर्मचारीसमेत आएको पुष्टि हुन्छ।

प्रहरीले पनि उप–महानगरपालिका संलग्न रहेको संकेत गर्दै जुनसुकै भए पनि प्रचलित कानूनी कारवाहीको दायरामा ल्याउने जनाएको छ। ‘यो घटना लगत मनसायले नै गराएको देखिन्छ।’ डिएसपी रावलले भने,‘घटनामा संलग्न दोषि ठहरिए नगर, उप–महानगरको कर्मचारी वा मेयर नै किन नहोस् हामी मुद्दा चलाउँछौँ।’

पशु चिकित्सकको टोली घटनास्थलमै

यता, वीरेन्द्रनगर नगरपालिकाको पशु स्वास्थ्य शाखा र प्रदेशको पशुसँग सम्बन्धित कार्यालयले औषधी उपचार गरिरहेका छन्। विहान सात बजेदेखि १५ बढी प्रहरी र औषधी सहितको पाँच जना बढी चिकित्सकको टोली सोही स्थानमा रहेका छन्। घटनास्थलमै रहेका पशु चिकित्सक नारायण न्यौपानेले गाई कसरी मरे भन्ने अनुसन्धान भईरहेको बताए। ‘बाहिरबाट हेर्दा त अहिल अलि चोट लागेको देखिन्छ।’ उनले भने,‘मरेका गाईहरुको ग्रस (बाहिरी) र इन्टरनल (भित्री) भाग पोस्टमार्टम हुन्छ। तब मात्रै खास के कारणले मरेका हुन् भन्ने पत्ता लाग्ला।’

पढ्नुस जिल्ला प्रशासन कार्यालयले जारी गरेको पत्र

प्रतिक्रिया दिनुहोस्