सुडानमा प्रदर्शनकारीमाथि सेनाले दमन गर्दा ६० जनाको मृत्यु

सुडानमा प्रदर्शनकारीमाथि सेनाले दमन गर्दा ६० जनाको मृत्यु

काठमाण्डु/ सुडानमा प्रजातान्त्रिक शासन व्यवस्थाको माग गर्ने प्रदर्शनकारीमाथि सेनाले दमन गर्दा ६० जनाको मृत्यु भएको छ । राजधानी खार्तुममा धर्नामा बसेका प्रजातन्त्र पक्षधर प्रदर्शनकारीविरुद्ध सेनाले व्यापक दमन गरेको हो ।

सुडानी सेनाले राजधानीमा भेला भएर प्रदर्शन गरिरहेका सर्वसाधारणमाथि आक्रमण गरिरहेको बताइएको छ ।

सोमबार त्यहाँको अन्तरिम सैन्य परिषदले प्रदर्शनकारीमाथि गोली चलाउन सुरु गरेपछि पछिल्लो हिंसा सुरु भएको हो । प्रदर्शनकारीमाथि दमन गरेकोमा सुडानी सेनाको चौतर्फी विरोध भएको छ । संयुक्त राष्ट्र संघ, अमेरिका र बेलायतसहितका राष्ट्रले दमनको निन्दा गरेका छन् ।

प्रदर्शनकारीहरु गत ६ अप्रिलदेखि सेनाको मुख्यालयबाहिर प्रजातान्त्रिक शासन व्यवस्थाको माग गर्दै प्रदर्शनमा जुटेका थिए ।

सुडानमा ३० वर्षसम्म सेनाको सहयोगमा सत्ता सञ्चालन गरेका ओमार अल–बसिरलाई पदच्युत गरिएको ५ दिनपछिदेखि निरन्तर सो क्षेत्रमा धर्ना जारी छ ।

अन्तरिम सैन्य परिषदले तीन वर्षभित्र चुनाव गर्ने घोषणा गरेको थियो । तर, सोमबार अचानक सेना सो निर्णय उल्टाउँदै दमनमा उत्रिएको हो ।

खार्तुमवासीले पछिल्लो हिंसामा त्यहाँको अर्धसैनिक दस्ता जिम्मेवार रहेको बताएका छन् । जनजाविद नामले चिनिने यो समूह डार्फरमा भएको संघर्षमा रक्तपात गराउन जिम्मवार रहेको मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्