सिन्धुलीको डकाहा बजारमा खानेपानी अभाव

सिन्धुलीको डकाहा बजारमा खानेपानी अभाव

सिन्धुली जिल्लाको दुधौली नगरपालिका–४, डकाहा बजारमा खानेपानीका मुहान सुक्दा खानेपानीको अभाव हुन थालेको छ । स्थानीय बासिन्दाले प्रयोग गर्ने पानीका मुहान सुक्ने र कुवामा समेत पानी कम हुन थालेपछि स्थानीय बासिन्दाले पानीका लागि घण्टौँ यात्रा गर्नुपर्ने बाध्यता बढेको हो । इन्दिरा दनुवार र गाउँका अन्य महिलाहरू पानी खोज्दैमा दिन बित्ने गरेको बताउँछन् । महिलाहरू पानीको खोजीमा हरेक दिन लामो दूरीमा हिँड्ने गरेका छन् । उनीहरु गाग्री बोक्दै श्रोत खोज्ने गर्दछन् । “हामी पछिल्लो केहि महिनादेखि केहि गर्न सकिरहेका छैनौँ”, दनुवारले भनिन् । लामो समयदेखि सुख्खाको कारण पानीको श्र्रोत सुकेका यस क्षेत्रका बासिन्दाहरु बताउँछन् । उनीहरुले शुरुवाती दिनहरुमा इनारबाट पानीकोे आवश्यकता पुरा गर्छन् ।

डकाहा बजार, बंघारा, नयाँ बजार, बैरहा, इखतिया, जुटपानी र पाँचरुखीका झण्डै २ हजार घरपरिवार इनारमा निर्भर भएका छन् । जलवायु परिवर्तन र पूर्वाधार निर्माणले पानीका मूलहरूमा असर पर्दा पछिल्ला वर्षमा खानेपानीको समस्या बढदै गएको स्थानियले बताएका छन्

सूखाले दुधौली नगरपालिकाको १ र २ नम्बर वाडमा पनि पानीको श्रोत सुकेको छ । तर, ४ नं वार्ड जस्तो समस्या भने देखिएको छैन । यहाँका स्थानियले कमला नदिबाट हानिकारक पानी पिउन बाध्य छन् । “हामीले कमला नदीको पानी प्रयोग गर्दै आएका छौँ किनभने पानीका श्रोत र मुहान सुकेका छन् । खोलाको पानी फोहोर छ । स्वास्थ्यमा असर पुग्छ तर हामीसँग अरु कुनै विकल्प छैन ।” दुधौली –२ रतनपुर गाउँको पन्नालाल कुमारले भने ।

( Sindhulisaugat)

प्रतिक्रिया दिनुहोस्