सावधानीका उपायहरू अपनाउँदै विकास निर्माणलाई निरन्तरता दिएका छौंः अध्यक्ष उपाध्याय

सावधानीका उपायहरू अपनाउँदै विकास निर्माणलाई निरन्तरता दिएका छौंः अध्यक्ष उपाध्याय

बझाङ्ग । नेपालका तीनै तहका सरकार मध्ये कोरोना रोकथामको लागि स्थानीय सरकारको भूमिका एकदम महत्वपूर्ण रहेको हुन्छ । यसै सन्दर्भमा नेपाल मिडिया सेन्टरले बझाङ्ग जिल्ला अवस्थित थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायलाई गाउँपालिकामा कोरोनाको अवस्था कस्तो छ र रोकथामको लागि गाउँपालिकाले के कस्ता प्रयासहरू गरिरहेका छन् भन्ने प्रश्न सोधेका थियौँ । उहाँले गउाँपालिकामा २४ जनामा संक्रमण देखिएको थियो ती मध्ये १६ जना ठीक भई घर फर्किसकेका छन् भने ८ जना आइसोलेसनमा उपचाररत रहेको बताउनुभयो ।

त्यसैगरी गाउँपालिकामा ५४४ जनाको पि.सि.आर र १५१० जनाको आर.डि.टी परीक्षण भैसकेको अध्यक्षले जानकारी गराउनुभयो । कोरोना संक्रमण हालसम्म भारतबाट आएका व्यक्तिमा मात्र देखिएको छ समुदायमा भने नफैलिएको अध्यक्षले नेपाल मिडिया सेन्टरलाई जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘सुरुका दिनहरूमा यस कोरोना भाइरसको कारणले विभिन्न किसिमका समस्या भोग्नुपरेको थियो । हाल भने यसको न्यूनिकरण र व्यवस्थापन गर्दै आइरहेका छौँ । ’


गाउँपालिकामा सुरुमा ५२ वटा क्वारेन्टाइनको व्यवस्था थियो भने हाल क्वारेन्टाइनमा बस्नेको संख्यामा कमी आएपछि जम्मा १२ वटा सञ्चालनमा छन् । हाल क्वारेन्टाइनमा २५ जना रहेको अध्यक्ष उपाध्यायले जानकारी गराउनुभयो । गाउँपालिकामा आवश्यक पर्ने स्वास्थ्यकर्मी तथा प्रविधि सबै गाउँपालिकाले नै व्यवस्था गर्दै आइरहेको उहाँले बताउनुभयो ।

गाउँपालिकाले यस महामारीबाट जोगिन रेडियो लगायत विभिन्न सञ्चार माध्यममार्फत जनचेतना फैलाइरहेको छ । मास्क, स्यानीटाइजर लगायतका समाग्री वीतरण गरेर सबैलाई सतर्क बनाइरहेको अध्यक्ष उपाध्यायले बताउनुभयो । साथसाथै उहाँले भन्नुभयो, ‘यस कोभिड १९ को महामारीलाई कम गरी यस रोगबाट बच्ने सम्पूर्ण साबधानीका उपायहरूलाई अवलम्बन गर्दै विकास निर्माणका कामहरूलाई निरन्तरता दिइरहेका छौँ ।’ स्थानीय सरकार र मिडियाबीच राम्रो सहकार्य हुन जरुरी छ भन्दै अध्यक्ष उपाध्यायले गाउँपालिकाबासी र आम नेपाली प्रति यस महामारीसँग जुध्न आत्मबल बढाउन र नेपाल सरकारको नियमलाई पालन गर्दै आफु बचौ र अरुलाई पनि बचाऔँ भन्दै सबैलाई आग्रह गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्