समृद्धिको लक्ष्य पछ्याउँदै ताराखोला गाउँपालिका

समृद्धिको लक्ष्य पछ्याउँदै ताराखोला गाउँपालिका

समृद्ध ताराखोलाको लक्ष्यसहित जिल्लाको ताराखोला गाउँपालिकाले पञ्चवर्षीय योजना बनाएर काम अघि बढाएको छ । पाँच वर्षभित्र गाउँपालिकालाई विकासित समृद्ध बनाइने गाउँपालिकाअध्यक्ष प्रकाश घर्तीले बताए । गाउँपालिकामा साना उद्योगको प्रवंदन र रोजगारी सिर्जनाका लागि ‘उद्योग ग्राम’ सञ्चालन गर्ने गाउँपालिकाको योजना छ ।

कृषितर्फ आलुखेती, पशुपालनमा बाख्रा, भेडा र भैँसीपालनमा ताराखोला आत्मनिर्भर छ। वनमा आधारित उद्यम विकासको पनि उत्तिकै सम्भावना छ। ताराखोलाबाट आलु, भाँगो, अल्लोका कपडा, नेपाली हाते कागज, काठ, जडीबुटीलगायतका स्थानीय उत्पादन निर्यात हुन्छ।

आगामी पाँच वर्षभित्र पाँचवटै वडामा शुद्ध पिउने पानी, बिजुली बत्तीलगायतका आधारभूत सुविधा पुर्याउने गाउँपालिकाको योजना छ । वातावरण संरक्षणतर्फ गाउँपालिकाको वडा नं २ मा पर्ने चरीखोला तालको संरक्षण गर्दै आएको छ । बहुपहिचान झल्कने सांस्कृतिक सङ्ग्रहालय निर्माणको योजना पनि अघि सारिएको छ।

ताराखोला गाउँपालिकामा औद्योगिक ग्रामको पूर्वाधार निर्माण शुरु भएको छ । ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ को राष्ट्रिय लक्ष्यअनुरूप गाउँपालिकाको वडा नं १ अमरभूमि, भुस्कातमा औद्योगिक ग्राम बन्न लागेको हो । एक सय ३८ रोपनी क्षेत्रफलमा निर्माण हुने औद्योगिक ग्राममा सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारको लगानी छ ।

गत आवमा सङ्घ सरकारको उद्योग मन्त्रालयबाट विनियोजित रु ९२ लाख बजेटबाट विस्तृत आयोजना प्रतिवेदन डिपीआर बनाउनेदेखि पूर्वाधार तयारीका कामलाई अघि बढाइएको गाउँपालिका अध्यक्ष घर्तीले बताउनुभयो । प्रदेश सरकारले चालु आवमा रु ६५ लाख बजेट उपलब्ध गराउने प्रतिबद्धता गरेको छ ।गाउँपालिका आफैँले रु ३० लाख बजेट छुट्ट्याएको छ । यो वर्ष जग्गा ‘प्लटिङ’, विद्युत् विस्तार, खानेपानी आपूर्तिलगायत संरचना निर्माणको काम हुने जनाइएको छ । दश वटा उद्योग चलाउने योजनासहित पूर्वाधार तयार गर्न लागिएको अध्यक्ष घर्तीले जनाए ।

स्थानीय पहिचानका रूपमा चिनिने ‘स्लेट ढुङ्गा’, नेपाली हाते कागज, पेय पदार्थ, जडिबुटी तथा कृषि र पशुजन्य उत्पादनमा आधारित उद्योग सञ्चालन गर्ने गाउँपालिकाको योजना छ । स्थानीय साधन, स्रोतको उपयोगसँगै रोजगारी सिर्जना र आर्थिक समृद्धिमा औद्योगिक ग्रामले टेवा पुर्याउने विश्वास लिइएको छ ।

कृषि, पशुपालन, खनिज र वनजन्य उत्पादनका हिसाबले अग्रणी मानिने ताराखोलामा औद्योगिक ग्राम बन्ने भएपछि गाउँले उत्साहित छन् । ताराखोला गाउँपालिकासँगै बागलुङ नगरपालिकामा पनि औद्योगिक ग्राम निर्माण हुँदैछ । नगरपालिकाको वडा नं १३ कालाखोलामा जग्गा व्यवस्थापन गरिएको छ ।

ताराखोला गाउँपालिका ढुङ्गाखानीका रूपमा परिचित छ । स्थानीय तह आइसकेपछि तारोखोलाका ढुङ्गाखानीलाई व्यवस्थित गर्न थालिएको छ ।गाउँपालिकालाई आम्दानीको मुख्य स्रोत हुने अपेक्षा गरिएको ढुङ्गाखानी सञ्चालनको कानूनी बाधा अड्चन हटाउन पहल थालिएको गाउँपालिकाले जनाएको छ । हालसम्म गाउँपालिकाले कानूनको अभावमा ढुङ्गाखानी व्यवस्थित गर्न र करको दायरामा ल्याउन सकेको थिएन । सङ्घीय सरकारद्वारा जारी प्राकृतिक स्रोत व्यवस्थापन गर्न बनेको ऐनलाई आधार बनाएर गाउँपालिकाले विधेयक बनाउन थालेको गाउँपालिकाका अध्यक्ष घर्तीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्