सबै जना मिली कोरोना भाइरस नियन्त्रणमा लागेका छौँः अध्यक्ष बिष्ट

सबै जना मिली कोरोना भाइरस नियन्त्रणमा लागेका छौँः अध्यक्ष बिष्ट

बझाङ । तलकोट गाउँपालिकाले कोरानाको सामना गर्न बिभिन्न उपायहरू अवलम्वन गरिरहेको छ । सम्भावित जोखिमहरूलाई अवसरको रूपमा लिएर काम गरिहेको अध्यक्ष लाल बहादुर बिष्टले बताउनुभयो । गाउँपालिकामा विदेशबाट आएको १ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो । ती व्यक्ति भने हाल आइसोलेसनमा उपचाररत रहेको बिष्टले बताउनुभयो । गाउँपालिकामा कोरोना भित्रिन नदिन सिमा नाकाहरूमा हेल्प डेक्स संचालन, नाकामा कडाई, विभिन्न जनचेतनामूलक कामहरू गरिरहेको उहाँले बताउनुभयो । गाउँपालिकामा हालसम्म ३५० जनाको पि.सि.आर र ४०० जनाको आर.डि.टी परीक्षण गरिसकेको अध्यक्षले जानकारी गराउनुभयो । गाउँपालिकामा ४ वटा क्वारेन्टाइन छन्, क्वारेन्टाइनमा ६ जना व्यक्तिहरू रहेको बिष्टले बताउनुभयो । कोरोना भाइरससँग लड्न गाउँपालिकामा चाहिने स्वास्थ्यकर्मी तथा प्रविधि हालसम्म गाउँपालिकाबाटै व्यवस्था गर्दै आइरहेको अध्यक्षले जानकारी गराउनुभयो ।


महामारीसँग जुध्न सबैजना एकजुट भई लागिरहेको अध्यक्षले बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय सरकार निर्धारण भएपछि काम गर्नका लागि निकै कष्टकर भयो । यस अवस्थामा यस्तो महामारीको सामना गर्नुपर्यो तैपनि हामी जनप्रतिनिधि, सम्पूर्ण यहाँका मान्यजन्य नागरिकहरू मिली यस रोगको रोकथाममा लागेका छौँ ।’
गाउँपालिकाले कोरोना रोकथामका लागि विभिन्न प्रयासहरू गरिरहेको अध्यक्षले बताउनुभयो । उहाँले भन्नुभयो, ‘भाद्र २५ गते सम्मका लागि निषेधाज्ञा छ । बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खाद्यान्न समाग्री लिनका लागि खुलाएका छौँ । यस अवस्थमा नागरिकले बुझेकाले खासै गुनासो आएको छैन तर भारतबाट आउने व्यक्तिहरूले भारतबाट आउन अलिक सजिलो माहोल बनाउनु पर्ने भनेर केही गुनासो आएको थियो । ’

गाउँपालिकाले जनताको घर आँगनमै पुगेर सचेतना फैलाइरहेको छ । विभिन्न रेडियो कार्यक्रम तथा चेतनामूलक कार्यक्रम गरेर स्थानीयहरूलाई यस रोगबाट कसरी सुरक्षित रहने र सावधानी कसरी अपनाउने लगायतका विषयमा सचेत गराइरहेको छ । सम्पूर्ण जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी, कर्मचारी महामारी रोकथामका लागि दिन रात लागिपरेको अध्यक्षले बताउनुभयो ।

गाउँपालिकाले महामारीलाई मध्य नजर गरेर बजेटमा विशेष प्राथमिकता स्वास्थ्यलाई दिएको अध्यक्ष बिष्टले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिलो प्राथमिकता भनेको हामीहरूले स्वास्थ्यलाई दिएका छौँ । पहिला ४ वटा स्वास्थ्य केन्द्र भएतापनि अरु माग गरेर स्थापना गरेका छौँ । यहाँ चाहिने स्वास्थ्यकर्मी करारमा लिएर भएपनि सञ्चालन गर्ने योजना गरेका छौँ । कृषि तथा पशुपालनका लागि पनि हामीले बजेट राखेका छौँ । अन्य विकास निर्माणका कामहरूलाई पनि विस्तारै अघि लाने योजना गरेका छौँ । ’
मिडियाले जनतासामु सत्य तथ्य समाचार फैलाउन एकदम महत्वपूर्ण भूमिका खेलेको भन्दै अध्यक्ष बिष्टले नेपालभर रहनुभएका सम्पूर्ण नागरिकहरूलाई कोरोना भाइरसँग लड्नका लागि सबै नियम पालना गरी सचेत रहन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्