सबैले नियमको राम्ररी पालना गरेमा संक्रमण फैलने छैनः वडा अध्यक्ष अधिकारी

सबैले नियमको राम्ररी पालना गरेमा संक्रमण फैलने छैनः वडा अध्यक्ष अधिकारी

गेलु, रामेछाप । महमारीको रूपमा विश्वरभर फैलिरहेको कोरोना भाइरसले नेपालमा पनि भयानक रूप लिइरहेको छ । छिमेकी देश भारतमा संक्रमण डरलाग्दो रूपमा बढेको हुनाले त्यसको प्रत्यक्ष असर नेपालमा पनि बढ्दै गएको देखिन्छ । नेपालका तीनै तहका सरकार मध्ये कोरोना रोकथामका लागि स्थानीय सरकारको भूमिका एकदम महत्वपूर्ण हुन्छ ।

यसै सन्दर्भमा नेपाल मिडिया सेन्टरले मन्थली नगरपालिकाको वडा नं. १२ का वडा अध्यक्ष कृष्णहरी अधिकारीलाई वडामा कोरोनाको प्रभाव कस्तो छ र यस महामारीको समयमा वडाले कसरी कामहरू गरिरहेको भन्ने कुराहरू राखेका थियौँ । उहाँले हालसम्म कोरोनाको वडाभित्र कसैलाई पनि कोरोना संक्रमण नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘वडाभित्र अहिलेसम्म कोरोना संक्रमित त छैनन् तर काठमाडौँमा बसोवास गर्ने यसै वडाका बासीन्दालाई संक्रमण भएको छ ।’

त्यसैगरी बाहिरबाट आउने व्यक्तिहरूलाई होम क्वारेन्टाइनमै राख्ने व्यवस्था गरेको उहाँले बताउनुभयो । स्थानीय सरकार नभएको भए महामारीले भयावह रूप लिन्थ्यो होला उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले विश्वव्यापी रूपमा फैलिएको यस कोरोना भाइसले सबैलाई समस्यामा पारेको छ । हामी सबै जनप्रतिनिधि देखि कर्मचारी यसलाई व्यवस्थापन गर्न सफल भएका छौं । यदि स्थानीय सरकार नभएर यो सबै केन्द्र वा प्रेदश सरकारले मात्र हेर्नुपरेको भए यसलाई नियन्त्रण गर्न धेरै गाह्रो हुन्थ्यो । ’

वडाले संक्रमण फैलिन नदिन बस्ती बस्तीमा माइकिङ गरेर चेतना फैलाइरहेको छ । साथसाथै नागरिक सबै यस रोगबाट सचेत भइसकेको समेत अधिकारीले बताउनुभयो । हाल वडाबाट आपतकालिन् बाहेक अन्य सेवा बन्द गरेको वडा अध्यक्षले बताउनुभयो । यस परिस्थितिलाई सबैले बुझेकाले नागरिकहरू वडाले गरेको काम कारबाहीबाट सन्तुष्ट नै रहेको उहाँले बताउनुभयो ।

वडाले स्वास्थ्य, कृषि र यातायात क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर योजनाहरू ल्याएको र दशै लगत्तै सम्पूर्ण योजनाहरूको कामहरू अघि बढाउने अधिकारीले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्