सबैजना पूर्वतयारीका साथ लागेकाले वडाभित्र संक्रमण फैलिन पाएनः वडाध्यक्ष बस्नेत

सबैजना पूर्वतयारीका साथ लागेकाले वडाभित्र संक्रमण फैलिन पाएनः वडाध्यक्ष बस्नेत

बिजुलिकोट, रामेछाप । हाल विश्वभरी कोरोनाको त्रास फैलिरहेको छ जसमध्ये नेपाल पनि एक हो । नेपालमा कोरोनाको संक्रमण फैलिन थालेपछि नेपालमा ४ महिना भन्दा बढी लकडाउन भयो । लकडाउनले आम मानिसको दैनिकीदेखि लिएर मुलुककै अर्थतन्त्रलाई पनि प्रत्यक्ष रूपमा असर गर्यो । कतिपय विकास निर्माणका कार्यहरू रोकिएका छन् भने योजनाका कामहरू पनि उस्तै छन् । यसै सन्दर्भमा नेपाल मिडिया सेन्टरले लिखुतामाकोशी गाउँपालिकाको वडा नंं ४ का वडा अध्यक्ष लिला बहादुर बस्नेतलाई वडामा कोरोनाको प्रभाव कस्तो छ र यस महामारीको समयमा वडाले कसरी कामहरू गरिरहेको भन्ने कुराहरू राखेका थियौँ । उहाँले हालसम्म कोरोनाको खासै असर नपरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेको अवस्थासम्म कोरोनाको त्यस्तो प्रभाव परेको छैन । सुरुमा भारतबाट आएका ३ जना व्यक्तिहरूलाई संक्रमण देखिएको थियो । सामान्य अवस्थमा रहेका ती नागरिकहरूलाई १४ दिन क्वारेन्टाइनमा राखेर पि.सि.आर परीक्षण गराई ठीक भइकन घर पठाएका छौं ।’


यस महामारीले ठूलो समस्या दिनुका साथसाथै धेरै कुरा सिकाएको उहाँले बताउनुभयो । कोरोनाबाट बच्न वडामा विभिन्न कार्यक्रमहरू गरिरहेको उहाँले जानकारी गराउनुभयो । वडाले यसबाट बच्नका लागि भिडभाड नगर्ने, सामाजिक दूरी कायम गर्ने, मास्क, स्यानिटाइजरको प्रयोग गर्ने, साबनु पानीले हात धुने जस्ता चेतनामूलक कार्यक्रमहरू प्रचार प्रसार गरिरहेको उहाँले बताउनुभयो । वडाले गरेको कामकार्वाहीबाट हालसम्म सबै सन्तुष्ट नै रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो , ‘हामीहरूले सुरुको अवस्थादेखि नै नागरिकहरूलाई सेवा सुविधाहरू निरन्तर दिइरहेका छौं । सबैजनालाई सन्तुष्ट दिन त गाह्रो नै हुन्छ तर समग्र रूपमा हेर्ने हो भने नागरिकहरू सन्तुष्ट नै छन् । ’ उहाँले गत वर्ष सक्नुपर्ने विकासका कामहरू सबै पूरा भएको र यो वर्ष पनि विकास निर्माणका थुप्रै योजनाहरू ल्याएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्