सप्तरीको तिलाठी कोइलाडीमा पक्की पुल शिलान्यास

सप्तरीको तिलाठी कोइलाडीमा पक्की पुल शिलान्यास

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ कोइलाडीस्थित भीमा नदीमा आज पक्की पुलको शिलान्यास गरिएको छ ।

संघीय सरकारको लागतमा निमार्ण हुने सो पक्की पुलको सोमबार एक कार्यक्रमबीच राष्ट्रिय सभाका सदस्य शेखरकुमार सिंहले शिलान्यास गर्नुभयो ।उक्त पुल निर्माणको शिलान्यास गर्दै राष्ट्रिय सभा सदस्य सिंहले नयाँ पुल निर्माणले यस भेगका बासिन्दाहरुलाई आवतजावतमा सजिलो हुने विश्वास ब्यक्त गर्नुभयो । नयाँ पक्की पुल निर्माण गरिने स्थानमा काठे पुल जिर्ण भएको थियो । सोही काठे पुललाई विस्थापित गर्दै नयाँ पुल निर्माण कार्य थालिएको गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिनुभयो । पूर्वाधार विकास कार्यालयद्वारा टेण्डर गरिएको उक्त पुलको कूल लागत रु एक करोड ७७ लाख ४० हजार छ सय रुपियाँ रहेको छ । धरानको सूर्या एण्ड सन्स प्रालिले पुल निर्माणको ठेक्का पाएको हो । ६ मिटर चौडाइ र २१ मिटर लम्बाइको सो पुल निमार्ण हुने बताइएको छ । बस्तीको बीचमै रहेको नदीमा यसअघि काठेपुलमार्फत सर्वसाधारण आवत–जावत गर्ने गरेका थिए । यद्यपि उक्त पुल जीर्ण भएपछि त्यहाँ पक्की पुलका लागि चौतर्फी पहल थालिएको थियो ।बर्षौ देखि जिर्ण रहेको सो पूलबाट ओहर दोहर गर्दा स्थानीय सम्भावित दुर्घटनाबाट भयभित हुने गर्दा नयाँ पूल बन्न लाग्दा खुशी भएका छन ।

गाउँपालिका अध्यक्ष सिंहकाका अनुसार गाउँपालिकाले अन्य विकासका कामहरु पनि जारी राखेको छ । नदिमा बाध निर्माण, स्वास्थ्य चौकीको निर्माण, सडकहरुको निर्माण र स्तरोन्नती लगायतको काम अघि बढेको छ । गाउँपालिकाले कृषि र पशुपालनमा जोड दिएर युवाहरु लाई नगर स्तरमै रोजगारि सृजना गरि उनिहरुको जीवन स्तरलाई माथि उकास्न सहयोग गरिरहेको छ । गाउँपालिका केन्द्र सम्म सबै वडालाई जोड्ने सडकको काम तिब्र गतिमा भैरहेको छ । सबै नागरिकमा खानेपानीको सुबिधा पुर्याउन एक घर एक धाराको अभियान पनि संचालनमा रहेको छ । स्वास्थ सेवाको पहुँच सम्पुर्ण नगरवासिमा पुराउन स्थानिय सरकारकै पहल र संघिय सरकारको सहयोगमा सुबिधा सम्पन्न अस्पताल भवनको शिलान्यास पनि भईसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्