शुद्धिकरण भन्दै १४५ मध्ये ९९ को सदस्यता खारेज गरेपछि पत्रकार महासंघ दोलखाको तिब्र आलोचना

शुद्धिकरण भन्दै १४५ मध्ये ९९ को सदस्यता खारेज गरेपछि पत्रकार महासंघ दोलखाको तिब्र आलोचना

चरिकोट । पत्रकारका नाममा गैरपत्रकार हावी भएपछि क्रियाशिल पत्रकारहरुलाई मात्र आवद्ध गराउन नेपाल पत्रकार महासंघमा वर्षौदेखि आवाजहरु उठिरहे पनि विभिन्न चुनौतीका कारण यो समस्याको हल हुन सकिरहेको छैन् । तर नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाले कोरोना भाईरसको महामारीका बीच शुद्धिकरण अभियान भन्दै शाखामा आवद्ध १४५ मध्ये ९९ अर्थात बहुमत सदस्यहरुको सदस्यता नै खारेज गर्ने निर्णय गरेपछि, यतिखेर यो निर्णयले जिल्ला भित्र र बाहिर हलचल पैदा गरिदिएको छ । निर्वाचन हुनु भन्दा केहि महिना अगाडि गरिएको यो शुद्धिकरणलाई विशेषगरि राजधानीमा कार्यक्षेत्र बनाएका सञ्चारकर्मीले आफूहरुमाथी शाखाले अन्याय गरेको गुनासो गरेका छन् ।
जिल्ला शाखाले केहि महिना अगाडि अग्रज पत्रकार चिरन्जीवी मास्केको संयोजकत्वमा राजेन्द्र मानन्धर, लक्ष्मण खड्का, शम्भु गौतम र रमेश खतिवडा सम्मिलित ५ सदस्यीय शुद्धिकरण समिति गठन गरेको थियो । गत चैत्र १० गते सो समितिले राजनितिक पार्टीका पदाधिकारी, निजामति कर्मचारी, विदेश र जिल्ला बाहिर रहेका तथा सक्रियताको आधार लगायतका मापदण्ड बनाएर चैत्र १० गते ९९ सदस्यको सदस्यता खारेज गर्न जिल्ला शाखालाई सिफारिस गरेको थियो ।
तर, शुद्धिकरण समितिमै रहेकाहरु सरकारी तलब खानेदेखि राजनितिक पार्टीमा सक्रिय रहेको भन्दै विशेष गरि खारेजीमा परेका र हाल राजधानीमा क्रियाशिल पत्रकारहरुले जिल्लाको यो निर्णयलाई चुनौति दिने बताईरहेका छन् ।
शुद्धिकरण अभियान राम्रो भएपनि महामारीको समयमा नेपाल अधिराज्यभित्र क्रियाशिल पत्रकारहरुको सदस्यता खारेज गर्नु गम्भिर विषय भएको कतिपय अग्रज पत्रकारहरु बताउछन् ।
नेपाल पत्रकार महासंघको विधानमा उल्लेख भए अनुसार राजीनामा दिए, शुल्क नबुझाए, नैतिक तथा फौजदारी अभियोग प्रमाणित भए र पत्रकारिता पेशा नै परिवर्तन गरेमा सदस्यता समाप्ति हुने छ । त्यसो त, नयाँ विधान अनुसार जिल्ला शाखाले प्रदेश समितिमा नयाँ सदस्यताको लागि सिफारिस गर्ने प्रावधान भएकोले खारेजीको लागि पनि जिल्लाले त्यहि सिफारिस मात्र गर्न सक्ने देखिन्छ ।
यदि  सदस्यहरुले यो विषयलाई विवाद बनाएमा महासंघको विधानमा प्रदेशले छानविन गरि योग्यता हुँदाहुँदै सदस्य बन्नबाट वञ्चित गरिएको पाइएमा त्यस्तो शाखा र संलग्नहरु उपर छानविन गरि संलग्नकै सदस्यता समाप्त गरिदिन पनि सक्दछ ।
दोलखा जिल्ला शाखाले प्रदेश कार्य समितिमै रहेकी जानुका न्यौपाने र जिल्ला समितिका सहसचिव सुवास योञ्जनसहित सदस्यहरु प्रविणकुमार खतिवडा, मुना गुरुङ, महेन्द्र श्रेष्ठ र जगदिश शिवाकोटीको पनि सदस्यता खारेज गरेको छ ।
सदस्यता खारेज भएपछि सामाजिक सञ्जालमा केहिले विना काममा वार्षिक शुल्क तिरेको स्मरण गर्दै धन्यवाद दिएका छन् भने केहिले शुद्धिकरण समिति र शाखाको गैरजिम्मेवार कदम भन्दै चर्को आलोचना पनि गरिरहेका छन् । शाखामा आवद्ध एकजना सदस्य, खारेजीमा परेका मध्ये करिब २ दर्जन पत्रकारहरु अझै सक्रियरुपमा पेशामै रहेकाले जिल्ला शाखाको यो निर्णय पूर्णरुपमा लागु हुनेमा शंका व्यक्त गर्दछन् । यस्तै, आउने दिनमा खारेजीमा परेका सदस्य, जिल्लामा सक्रिय भए के गर्ने भन्ने खुलाइएको छैन् । त्यस्तै, जिल्ला बाहिर स्थानान्तरण हुन चाहनेलाई सहमति दिने बुँदा उल्लेख गरिए पनि सदस्य स्थानान्तरण एउटा जटिल प्रकृया रहेको र जाने शाखाले पनि सिफारिस गर्नु पर्ने हुन्छ ।
खासगरि, महासंघको निर्वाचनमा हावी हुन् कर्मचारीदेखि राजनितिककर्मि र अन्य पेशामा आवद्ध भएकालाई सदस्यता दिने विगतको परिपाटीका कारण शुद्धिकरणको माग भएपनि त्यसको बलियो आधार पेशागत क्रियाशिलता हुनु पर्ने अधिकांशको तर्क छ ।

( खारेज भएका र कायम रहेका सदस्यहरुको विवरण)

    

प्रतिक्रिया दिनुहोस्