व्यास नगरपालिकामा नयाँ घर निर्माण गर्दा दुईवटा बिरुवा अनिवार्य रोप्नुपर्ने

व्यास नगरपालिकामा नयाँ घर निर्माण गर्दा दुईवटा बिरुवा अनिवार्य रोप्नुपर्ने

काठमाण्डौ/ तनहुको व्यास नगरपालिकामा नयाँ घर निर्माण गर्दा दुई वटा बिरुवा अनिवार्य रोप्नुपर्ने भएको छ । नगरपालिकाले हरियाली नगर बनाउने उद्देश्य सहित घर निर्माण सम्पन्न प्रमाणपत्र लिदासम्म कम्तिमा २ वटा विरुवा रोप्नुपर्ने नीति लिएको हो । यसले हरियाली नगर निर्माणका लागि सहयोग पु(याउने विश्वास नगरपालिकाले गरेको छ ।

नगरपालिकाले नगरभित्रका सबै सडकको वर्गिकरण गरी सडक किनारामा विरुवा रोप्ने अभियान समेत सञ्चालन गर्ने भएको छ । नगरपालिकाले हरियाली नगर निर्माण कार्यक्रम अन्तर्गत नगरको सुन्दरतामा एकरुपता ल्याउन बोटविरुवाहरु उपलब्ध गराउने भएको छ । त्यस्ता बोटविरुवाबाट हुने उत्पादन जग्गाधनीले नै व्योहोर्नेगरी संरक्षण समेत गर्नुपर्ने छ ।

त्यस्तै नगरपालिकाले खरको छानोमुक्त नगर अभियान पनि सञ्चालन गर्ने भएको छ । त्यसका लागि नगरपालिकाले नगरवासीलाई अनुदान दिने भएको छ । नगरपालिकाले परम्परागत चौतारा र पोखरी संरक्षणलाई अभियानकै रुपमा अघि बढाउने नीति पनि लिएको छ । त्यस्तै प्लास्टिक झोलामुक्त नगरपालिका बनाउन टोल विकास संस्थाहरुसँग सहकार्य गरी वैकल्पिक झोला तयार गर्नका लागि सहयोग समेत उपलब्ध गराउने छ ।

फोहरमैलाको व्यवस्थापन गरी प्राङ्गारिक मल उत्पादन गर्ने नीति समेत नगरपालिकाले लिएको छ । यससँगै नगरपालिकाले प्राङ्गारिक खेती प्रणालीलाई अभियानका रुपमा अगाडी बढाउने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्