व्यावसायिक मौरीपालनमा अगाडी बढदै डडेल्धुरा

व्यावसायिक मौरीपालनमा अगाडी बढदै डडेल्धुरा

काठमाण्डौ । डडेल्धुरा जिल्लामा करिब दुई हजार घरधुरीले व्यावसायिक मौरीपालन गर्दै आएका छन् । उनीहरूले वार्षिक ७२ टन मह उत्पादन गर्दै आएका कृषि ज्ञानकेन्द्र कार्यालय डडेल्धुराले जनाएको छ । डडेल्धुराबाट एक वर्षमा तीन करोड ६० लाखको मह बिक्री हुने गरेको छ । वार्षिक ६७ लाख ९० हजारसम्मको मौरीका गोलासहितको घार बिक्री भइरहेको कृषि ज्ञानकेन्द्र डडेल्धुराले जनाएको छ ।

जिल्लाको भित्री मधेस क्षेत्रसँग जोडिएको आलिताल गाउँपालिका मौरीका लागि पकेट क्षेत्रका रूपमा विस्तार हुँदै गएको छ । सरकाले युवालक्षित मौरीपालन कार्यक्रम सञ्चालन गरेकाले कम मिहिनेतमै राम्रो आम्दानी हुने मौरीपालन व्यवसायमा युवा आकर्षित भएका हुन् । मौरीपालनका लागि आलिताल गाउँपालिका जिल्लाको पकेट क्षेत्र बन्दै गएको कृषि ज्ञानकेन्द्र कार्यालय डडेल्धुराका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टलले बताए ।

दुई हजार परिवार मौरीपालनमध्ये आलिताल गाउँपालिका क्षेत्रमा मात्र सात सय किसान छन् । मौरीका लागि पर्याप्त चरन भएको क्षेत्र भएका कारण आलिताल क्षेत्रमा मौरीपालन फस्टाउँदै गएको वरिष्ठ कृषि विकास अधिकृत विष्टले बताए ।

केही वर्षयता युवालक्षित मौरीपालन कार्यक्रमबाट अनुदान पाएपछि जिल्लाको आलिताल गाउँपालिका मौरीपालन क्षेत्रका लागि परिचित हुँदै गएको हो । साबिकको आलिताल–७ जालटुडाकी पुनादेवी कामी अहिले व्यावसायिक मौरीपालनमा रमाएकी छिन् । पुख्र्यौली पेसाबाट दैनिकी गुजारा चल्न नसकेपछि आफूले मौरीपालन व्यवसाय थालेको उनले बताइन् । यसबाट राम्रो आम्दानी भएको उनको भनाइ छ ।

कृषि ज्ञानकेन्द्र कार्यालय डडेल्धुराले सञ्चालन गरेको युवालक्षित कार्यक्रमबाट एक लाख ८० हजार रकम अनुदान पाएपछि व्यावसायिक मौरीपालनमा लागेकी पुनादेवीसँग अहिले २० घारमा सेरेना जातका मौरी छन् । वर्षमा उनी एक क्विन्टल मह उत्पादन हुने गरेको उनी बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्