काठमाडौं- वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम गरेका ६ जना उद्यमीलाई सरकारले सम्मान गरेको छ।
विदेशमा आर्जन गरेको सिप स्वदेशमै परिचालन गरी देशमै केही गर्न सकिन्छ भन्ने भावना युवाहरुमा जागृत गराउने ६ जनालाई आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्मान गरेको हो।
विदेशबाट फर्किएर सफल उद्यम गरिरहेका युवाहरुलाई उत्कृष्ठ राष्ट्रिय पुरस्कार स्वरुप नगद १ लाख र उद्यमी राष्ट्रिय पुरस्कार स्वरुप ५० हजार नगद सहित सम्मान गरेको थियो ।
उत्कृष्ठ राष्ट्रिय उद्यमी पुरस्कार स्वरुप एकलाख नगद पुरस्कार पाउनेमा दुवईबाट फर्किएका नवराज पौड्याल छन्। उनले कान्तिपुर पोल्टी फर्म सञ्चालन गरिरहेका छन् र
उद्यमी राष्ट्रिय पुरस्कार स्वरुप ५० हजार नगद सहित ५ जना उद्यमी सम्मानित भएका छन्।
सम्मानित हुने ५ जनामा दक्षिण कोरियाबाट फर्किएर झापा कन्काइ १ मा व्यवसाय सञ्चालन गरिरहेका दिपक चापागाँई, युएईको होटलमा काम गरि फर्किएर अर्गानिक कृषि फर्म सञ्चालन गरिरहेका भोजपुरका निरबहादुर राउत, मलेसियाबाट फर्किएर व्यवसायिक कृषि गरिरहेका एकबहादुर सिङ्ताङ, दक्षिण कोरियाबाट फर्किएर गार्मेन्ट सञ्चालन गरिरहेका मकवानपुरका मनोजकुमार भारती , युएईमा व्युटीसियन काम गरी फर्किएर कृषि फर्म सञ्चालन गरिरहेकी शर्मिला अधिकारी र दक्षिण कोरियाबाट फर्किएर गार्मेन्ट सञ्चालकका रुपमा काम गरिरहेका कैलालीका त्रिलोक पनेरु छन्।
वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमै उद्यम गरिरहेका युवाहरुलाई सम्मान गर्दै वैदेशिक रोजगारबाट फर्किएर देशभित्रै उद्यम गर्ने युवाहरुलाई सरकारले सक्दो सहयोग गर्ने श्रम मन्त्री गोकर्ण विष्टले बताए।
त्यस्तै श्रम सचिव महेश दाहालले सरकारले विदेशबाट फर्किएर देशमै काम गरिरहेका युवाहरुलाई प्रोत्साहन गर्नका लागि सरकारले सम्मान तथा पुरस्कार वितरण कार्यक्रम अघि सारेको बताए।
प्रतिक्रिया दिनुहोस्