विराटनगर विमानस्थल विस्तार गरिने

विराटनगर विमानस्थल विस्तार गरिने

विराटनगर । विराटनगर विमानस्थल निर्माणका लागि तयार पारिएकोे गुरुयोजना स्वीकृत गरेर दुई महिनाभित्रै विस्तारका लागि मार्गप्रशस्त गरिने पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताउनुभएको छ । क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मापदण्डमा विस्तार गर्ने गुरुयोजना तयार पारिएपछि रोकिएको कामलाई दुई महिनाभित्रै अगाडि बढाइने मन्त्री भट्टराईले दाबी गर्नुभएको हो । विराटनगरका पर्यटन व्यवसायीले शनिबार साँझ बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री भट्टराईले प्राथमिकतामा राखेर विस्तारको काम थालिने बताउनुभएको थियो । विराटनगर विमानस्थल विस्तार कार्यका लागि तयार गरिएको गुरुयोजना नेपाल नागरिक उड्डयन प्राधिकरणमा थन्किएको भन्दै विराटनगरका पर्यटन व्यवसायीले मन्त्री भट्टराईको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका हुन् ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीसहितको उपस्थितिमा भएको छलफल कार्यक्रममा मन्त्री भट्टराईले विज्ञसहितको टोलीलाई गुरुयोजना अध्ययन गराएर दुई महिनामा बोर्डबाट स्वीकृत गराउने प्रतिबद्धता जनाउनु भएको थियो ।
विराटनगर विमानस्थल विस्तारका लागि गठित सङ्घर्ष समितिका अध्यक्ष पुण्यप्रसाद भट्टराईले गुरुयोजना अस्वीकृत गरेर पूर्वको पर्यटन व्यवसायलाई ओझेलमा पार्न खोजेको भन्दै मन्त्रीसँग तत्काल काम अगाडि बढाउने वातावरण तयार गरिदिन आग्रह गर्नुभएको थियो । नागरिक उड्डयन प्राधिकरणले ललितपुरस्थित रियल पाथ इन्जिनियरिङ कन्सल्टेन्सी प्रा।लि।मार्फत विराटनगर विमानस्थलको गुरुयोजना तयार गरिसकेको छ । गुरुयोजनामा विमानस्थल विस्तारका लागि दुई विकल्प प्रस्तुत गरिएका छन् ।
प्राधिकरण विराटनगरका प्रमुख टेकनाथ सिटौलाका अनुसार अहिले भइरहेको रन–वे एक हजार चार सय मिटरलाई दुई हजार चार सयमा विस्तार गर्ने वा तीन हजार मिटरसम्म विस्तार गर्ने दुईवटा विकल्पसहितको प्रतिवेदन कन्सल्टेन्सीले बुझाएको छ ।
विमानस्थलको पश्चिम–उत्तर क्षेत्रतर्फ दुई हजार चार सय रन–वे निर्माणका लागि खासै चुनौती छैनन् । वातावरणीय दृष्टिकोणले समस्या नदेखिएको यो दूरीका लागि बस्ती स्थानान्तरण गरेर १२५ बिघा क्षेत्रफल जमिन अधिग्रहण गर्नुपर्ने हुन्छ । तर तीन हजार मिटर विस्तार योजनाका लागि भने केशलिया खोला डाइभर्सन गर्नुपर्ने चुनौती रहेको छ । विमानस्थल पश्चिमको दुई हजार ८०० सय मिटर दूरीमा रहेको केशलिया खोलालाई ३।५ किलोमिटर दूरीसम्म डाइभर्सन गर्नुपर्ने चुनौती दोस्रो विकल्पमा उल्लेख गरिएको छ ।
तीन हजार मिटरसम्म विस्तारका गर्ने योजना अगाडि बढाउन पश्चिम–उत्तरतर्पmको २५० बिघा क्षेत्रफल जमिन अधिग्रहण गर्नुपर्ने हुन्छ । विमानस्थलदेखि पूर्वतर्फ जमिन अधिग्रहण गर्नसक्ने अवस्था छैन । पूर्वतर्फ बनेका अग्ला संरचनाले वायुयान उडान र अवतरणमा जोखिम बढाएको भन्दै नागरिक उड्डयन प्राधिकरणले चार बिघा आठ कट्ठा जमिन यस अगाडि अधिग्रहण गरिसकेको छ । क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विस्तार गर्दा अन्तर्राष्ट्रिय हवाई सेवाको मापदण्डअनुसार चारैतर्फको दूरीलाई समेत सन्तुलित गर्नुपर्ने प्रमुख सिटौलाको भनाइ छ ।
प्राविधिक रूपमा विमानस्थललाई दुई हजार चार सय मिटरमा विस्तार गर्दा दुई सय सिट क्षमता भएका मध्यमस्तरका जेट वायुयान उडान र अवरण गर्न सकिने बताइन्छ । पर्यटन व्यवसायी भट्टराईले प्रदेश राजधानी बनेपछि जमिनको मूल्यवृद्धि हुँदै गएकाले तत्काल गुरुयोजना स्वीकृत गरेर जग्गा अधिग्रहणको काम अगाडि बढाउनका लागि मन्त्री भट्टराईको ध्यानाकर्षण गरिएको बताउनुभयो ।
हाल एक सय १५ बिघा क्षेत्रफल रहेको विमानस्थलको धावनमार्ग एक हजार चार सय मिटरको छ । अहिले ७२ सिट क्षमता भएका पाँचवटा जहाज राख्न मिल्ने वायुयान एप्रोन, धावनमार्ग र एप्रोनलाई जोड्ने दुईवटा ट्याक्सी वे, वायुयान पथ, रात्रि उडान र अवतरणका लागि एयरफिल्ड लाइटिङ सिस्टम, अग्निनिवारण तथा उद्धार सेवा, हवाई इन्धन, हवाई सञ्चार सेवा, हवाई ट्राफिक नियन्त्रक सेवा, मौसमी सेवाजस्ता पूर्वाधारहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्