वडाभित्र हालसम्म संक्रमण देखिएको छैनः वडाध्यक्ष न्यौपाने

वडाभित्र हालसम्म संक्रमण देखिएको छैनः वडाध्यक्ष न्यौपाने

बर्दघाट सुस्ता पश्चिम । नेपालमा दिनानुदिन कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । यसको रोकथाम तथा नियन्त्रण गर्न तीनै तहका सरकार प्रयासरत छन् । तीनै तहका सरकारमध्ये स्थानीय सरकारको भूमिका यसको रोकथामको लागि एकदम महत्वपूर्ण हुन्छ । यसै सन्दर्भमा नेपाल मिडिया सेन्टरले बर्दघाट नगरपालिकाको वडा नं. ३ का वडा अध्यक्ष रुद्र प्रसाद न्यौपानेलाई वडामा कोरोनाको अवस्था कस्तो छ र रोकथामको लागि वडाले के कस्ता प्रयासहरू गरिरहेको छ भनेर सोधेका थियौं । उहाँले हालसम्म वडाभित्र कसैलाई पनि कोरोना संक्रमण नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेसम्म यस वडाभित्र संक्रमित नभएका कारणले त्यस्तो खासै प्रभाव परेको छैन । बाहिरबाट आएका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखेर पि.सि.आर परीक्षण गर्दा सबैमा नेगेटिभ देखिएको छ । ’ त्यसैगरी बाहिरबाट आउने व्यक्तिहरुलाई सुरक्षित एवं सम्भव भएसम्म वडाले होम क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको छ र यदि सुरक्षित नभएमा वडा केन्द्रमा क्वारेन्टाइनको व्यवस्था गरेको न्यौपानेले बताउनुभयो ।

वडाभित्र संक्रमण नफैलिएपनि महमारीलाई सामान्य रुपमा नलिएको उहाँले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘लकडाउनले गर्दा यहाँ भएका मजदुर व्यवसायीहरुलाई अति अप्ठ्यारो भएको छ । तर यस वडाका नागरिकहरु व्यापारिक भन्दा पनि कृषि पेशामा धेरै संलग्न भएकाले ठूलो समस्या हुन पाएन । ’
वडाले कोरोनाबाट बच्नलाई रोडियो टिभी मार्फत सचेतना कार्यक्रमहरु बजाइरहेको छ । समन्वय समितिद्वारा माइकिङबाट सचेत गर्ने काम सुरुतिर गरेको हुनाले अहिलेसम्म सबै व्यक्ति सजग भइसकेको वडाध्यक्ष न्यौपानेले जानकारी गराउनुभयो । वडाले गरेको काम कारबाहीप्रति अहिलेसम्म नागरिक सबै सन्तुष्ट नै रहेको उहाँले बताउनुभयो ।

कोरोनाबाट बच्न सावधानिका उपायहरु अपनाउँदै विकास निर्माणका कामहरुलाई अघि बढाउने उहाँको योजना रहेको थियो । ‘कुनैपनि काम नरोकेर कोरोनालाई पनि न्यूनिकरण गर्दै जान्छौं । नयाँ विकास निर्माणका लागि भर्खरै नगर सभा सम्पन्न भयो दशै लगत्तै सम्पूर्ण योजना अगाडि लाने योजनामा छौं ’ , उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्