लालझाडी गाउँपालिकाद्धारा विद्यालयहरुलाई स्वास्थ्य सामाग्री वितरण

लालझाडी गाउँपालिकाद्धारा विद्यालयहरुलाई स्वास्थ्य सामाग्री वितरण

कविता पोखरेल/ काठमाडौं ।

कन्चनपुर जिल्लाको लालझाडी गाउँपालिका भित्रका सबै विद्यालयहरुमा विभिन्न स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

गाउँपालिकाले एक कार्यक्रमकाबीच कोरोना महामारीका बिचमा सुरक्षित हुँदै पठनपाठन कार्य सुचारु गर्नका लागि गाउँपालिका भित्रका सम्पुर्ण विद्यालयमा थर्मल गन, मास्क तथा साबुन लगायतको स्वास्थ्य सामाग्र वितरण गरेको गाउँपालिका अध्यक्ष मदनसेन बडायकले जानकारी दिनुभयो । कार्यक्रममा सबै शिक्षकहरुका लागि दैनिक पाठयोजना तयार गर्न शिक्षक डायरी पनि वितरण गरिएको छ ।

अध्यक्ष बडायकका अनुसार गाउँपालिकाले क्वारेन्टाइन बनाउन प्रयोग गरेका बिद्यालयहरुमा रंग रोगन समेत गरिएको छ । यस्तै, गाउँपालिका भित्रका बिद्यालयहरुमा बिभिन्न जातका करिब ३ हजार विरुवा समेत रोपिएको छ ।

करिब ९ महिना सम्म ठप्प रहेका बिद्यालयको पठनपाठनमा बृद्धि गर्न गाउँपालिकाले बिभिन्न योजना समेत बनाएको अध्यक्ष बडायकले बताउनुभयो । गाउँपालिकाले पाठ्यपुस्तक समायोजन ढाचा २०७७ मा आधारित सन्दर्भ सामाग्री निर्माण गरेको छ । यस्तै, प्रत्येक बिद्यालयमा सुरक्षित शिक्षा तथा मनोपरामर्श कार्यक्रम संचालनको समेत तयारी गरिएका अध्यक्ष बडायकले जानकारी दिनुभयो । बिद्यार्थीहरुलाई स्वस्थ र फुर्तिलो बनाउन गाउँपालिकाले छुट्टै खेल शिक्षक राख्ने तयारी समेत गरिएको छ । गाउँपालिकाले बिद्यालयका शिक्षकहरुको तहगत दरबन्दिको अन्तिम मिलानको तयारी समेत गरेको छ ।

कोरोना महामारीकाबीच बिद्यालयहरु संचालनमा आएकोले गाउँपालिकाले प्रत्यक बिद्यालयको निरन्तर अनुगमन तथा निरिक्षण गर्ने अध्यक्ष बडायकले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्