रामेछाप विमानस्थललाई स्तरोन्नति गर्ने सरकारको योजना

रामेछाप विमानस्थललाई स्तरोन्नति गर्ने सरकारको योजना

काठमाडौं । सरकारले रामेछाप बिमानस्थललाई स्तोन्नती गरेर अझ ब्यवस्थीत बनाउने भएको छ । आफ्नो वार्षिक कार्ययोजना प्रस्तुत गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नयाँ विमानस्थल निर्माण गर्नुको साटो काठमाडौं नजिकैको रामेछाप विमानस्थल स्तरोन्नति गर्ने बताएका हुन । मन्त्री भट्टराईको कार्ययोजनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक व्यवस्थापन गर्न काठमाडौं नजिक रामेछाप विमानस्थलको स्तरोन्नति गर्ने’ उल्लेख छ । मन्त्री भट्राईले यसलाई समयसीमा भने तोकेका छैनन् ।

सरकारले वसन्तु ऋतुको सगरमाथा आरोहण शुरु हुने समयमै काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति थाल्यो । चैत दोस्रो साताबाट शुरु भएको यो आयोजनाका बेला विमानस्थल केवल दैनिक १४ घण्टा मात्र सञ्चालन भएको थियो । सोही कारण नेपाल नागरिक उड्डयन प्राधिकरणले वसन्त ऋतुका लागि लुक्लामा हुने सबै उडान रामेछाप सार्‍यो । व्यवसायीले पर्यटकलाई सडक माध्यमबाट रामेछाप पुर्‍याए र त्यहाँबाट जहाजमा लुक्लासम्म सेवा दिए । मूख्य पर्यटकीय सिजनमा लुक्लामा दैनिक ५० भन्दा बढी उडान हुने गर्छ । लुक्ला आन्तरिकतर्फ सबैभन्दा व्यस्त विमानस्थलमध्ये एक हो ।

रामेछाप विमानस्थलमा पर्याप्त सुविधा नहुँदा पर्यटकले भने सास्ती भोग्नुपरेको थियो । मन्त्री भट्टराईको योजना अनुसार स्तरोन्नति भयो भने रामेछापले काठमाडौं विमानस्थलको विकल्प दिन सक्ने सम्भावना छ । सन् १९७९ मा सञ्चालनमा आएको यो विमानस्थलको धावनमार्ग सन् २०१५ मा कालोपत्रे गरिएको थियो । यहाँ ५१८ मिटर लामो धावनमार्ग रहेको छ । यस विमानस्थलबाट साना जहाजले मात्र उडान अवतरण गर्न सक्छन् ।

प्राधिकरणले लुक्ला उडान रामेछाप सारे पनि पहुँचवालाको भनसुनमा काठमाडौंबाट अहिले पनि जहाज लुक्ला उड्छन् । प्रभावशाली ट्राभल व्यवसायीले ल्याएका पर्यटकलाई काठमाडौंबाटै लुक्ला उडाउन वायुसेवा तयार हुन्छन् । उनीहरुलाई विमानस्थलले पनि अनुमति दिन्छ ।
‘मैले रामेछाप र अर्को व्यवसायीले काठमाडौंबाट उडाएका पर्यटक लुक्लामा सँगै भेटिएका धेरै उदाहरण छन्,’ एक व्यवसायीले गुनासो गरे ।
दुई साताअघि तारा एयरले काठमाडौंबाटै हिमाल सरसफाई सम्बन्धी कामको अवलोकनमा नेपाली सेना, सञ्चारकर्मी र सरकारी टोली बोकेर लुक्ला उडेको थियो । ‘काठमाडौंबाट उडाउन नपाउने हो भने त कसैले पनि पाउन भएन नि,’ ती व्यवसायीको भनाई छ, ‘कि पूर्वाधार सुधार गरी सबैलाई रामेछाप पठाऔं, कि सबैलाई काठमाडौंबाट नै उड्ने व्यवस्था गरौं ।’

बिनापूर्वाधार उडान सार्दा पर्यटकलाई सास्ती

लुक्ला उडानले काठमाडौंको हवाई ट्राफिक चाप घटे पनि पर्यटकलाई सास्ति थपिएको छ । एभरेष्ट वेस क्याम्प ट्रेकिङ र पर्वतारोहणमा जाने पर्यटक यसबाट प्रभावित बनेका छन् ।

अर्थवाउण्ड एक्स्पीडिसनका प्रवन्ध निर्देशक राजन सिंखडा अहिलेकै पूर्वाधारमा रामेछाप उडान निरन्तर गर्ने हो भने अन्तर्राष्ट्रियस्तरमै नेपालको छवि धुमिल हुने बताउँछन् ।

‘रामेछापमा पर्यटकीयस्तरका होटेलसमेत तयार भइसकेका छैनन्,’ उनले भने, ‘अलि-अलि भएका राम्रो होटलका कोठा एयरलाइन्सले पाइलट र एयरहोस्टेस राख्दा भरिइसक्छ, पर्यटकलाई लामखुट्टेले टोकाउँदै राख्नुको विकल्प छैन ।’

सोही कारण धेरै व्यवसायीले पर्यटकलाई काठमाडौंमै राखेर बिहान ७ बजे रामेछापबाट उड्ने जहाज भेटाउन लैजाने गरेका छन् । यसका लागि राती १/२ बजे नै सुतिरहेका पर्यटकलाई उठाएर कुदाउनुपर्छ । मन्थली पुगुन्जेल राजमार्गमा परेका ठूल्ठूला खाल्डा, निद्राको यात्रा र थकानका कारण पर्यटक हत्तु हुने भएकाले नेपालप्रति अन्तर्राष्ट्रिय स्तरमा नराम्रो सन्देश गएको उनले चिन्ता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्