रसुवाको धुन्चे–राम्चे सडकखण्डमा पहिरो , मर्मत गरेको तीन घन्टामै भासियो सडक

रसुवाको धुन्चे–राम्चे सडकखण्डमा पहिरो , मर्मत गरेको तीन घन्टामै भासियो सडक

रसुवा । पासाङ ल्हामु राजमार्गको धुन्चे–राम्चे सडकखण्ड मर्मत गरेको तीन घन्टामै भासिएको छ । धुन्चे–राम्चे सडकखण्डको ब्राबल भिरमा पहिरो गएपछि आइतबार मर्मत गरेर सडक सञ्चालन गरिएको थियो । सञ्चालन गरेको तीन घन्टामै सडक भासिँदा यातायात सेवा ठप्प भएको छ ।
शनिबार राति परेको अविरल वर्षाले सडक भासिएको हो । भासिएको सडक मर्मत गरी आइतबार बिहान १० बजेबाट सवारी आवतजावत नियमित गरिएको थियो । तर, गाडी सञ्चालनमा आएको तीन घन्टा नपुग्दै आइतबार दिउँसो १ बजे पुनः सडक चिराचिरा भएर भासिएको हो ।

सवारी आवागमनमा रोक
सडक भासिएपछि साना तथा ठूला सवारीसाधनको आवतजावतमा रोक लगाइएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । उनले भने, ‘अबिरल वर्षाले सडक ३० मिटर तलबाटै भासिएको छ । मर्मत गरेर सवारी नियमित गर्ने प्रयास गरेका थियौँ, तर पुनः सडक भासिएपछि सवारी सञ्चालनमा रोक लगाएका छौँ ।’ सडकको १५ मिटर भागमा चिरा चिरा परेर सडकभन्दा ३० मिटर तलबाट पहिरो गएको प्रजिअ भण्डारीले बताए ।

सवारीसाधन बीचमै रोकिए
सडक भासिएपछि सयौँ सवारीसाधन बीच बाटोमै रोकिएका छन् । चीनको केरुङबाट रसुवागढी नाका हुँदै ल्याइएका करोडौँको सामान बोकेका मालबाहक कन्टेनर तथा केरुङ सामान लिन हिँडेका कन्टेनर तथा अन्य सवारीसाधन बीच बाटोमै रोकिएका हुन् । चीनसँग अन्तर्राष्ट्रिय व्यापारिक नाका जोड्ने सडक पनि यही हो ।

सडक मर्मत गर्न ब्लास्ट्रिङ गर्नुपर्ने अवस्था आएको प्रजिअ भण्डारीले बताए । ‘त्यसका लागि गृह मन्त्रालयमा जानकारी गराइसकेका छौँ, उनले भने । तत्कालका लागि सवारी सञ्चालन गर्न सडकको कुनापट्टि ब्रेकर लगाएर पहरो काट्ने काम भइरहेको भण्डारीले बताए । सबैखाले सवारी सञ्चालनका लागि वैकल्पिक बाटो निर्माणका लागि पहल गरिरहेको पनि भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्