महामारीमा व्यक्तिगत सरसफाइमा ध्यान दिँदा अन्य रोगहरु फैलिन पाएनन्ः वडाअध्यक्ष बोहरा

महामारीमा व्यक्तिगत सरसफाइमा ध्यान दिँदा अन्य रोगहरु फैलिन पाएनन्ः वडाअध्यक्ष बोहरा

तिल्पुङ, रामेछाप । लिखु तामाकोशी गाउँपालिकाको वडा नं. ७ ले कोरानाको सामना गर्न विभिन्न उपायहरू अवलम्वन गरिरहेको छ । सम्भावित जोखिमहरूलाई अवसरको रूपमा लिएर काम गरिरहेको वडा अध्यक्ष सुवास बोहराले बताउनुभयो । उहाँले हालसम्म कोरोनाको खासै असर नपरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेसम्म कोरोनाको त्यस्तो प्रभाव परेको छैन । सुरुमा १ जनालाई संक्रमण देखिएको थियो अहिले उहाँ ठीक भइसक्नुभयो । ’ त्यसैगरी बाहिरबाट आउने व्यक्तिहरूलाई वडाले क्वारेन्टाइनको पनि व्यवस्था गरेको उहाँले बताउनुभयो ।

उहाँले यस रोगबाट सतर्कता तथा सरसफाइमा ध्यान पुर्याउँदा वडामा अन्य झाडापखला जस्ता रोगहरू नदेखिएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘विश्वभरी नै महामारी भएको बेलामा सबै सचेत रहनुपर्छ भन्ने त छदैछ । यहाँका नागरिक आफ्नो स्वास्थ्य र व्यक्तिगत सरसफाइमा ध्यान दिएर नै होला अहिले झाडापखला, टाइफाइड आदि जस्ता रोगहरू लागेका छैनन् । तर महामारीले गर्दा धेरै कामहरूमा अप्ठ्यारो समेत भइरहेको छ । ’

कोरोनाबाट बच्न वडामा विभिन्न कार्यक्रमहरू गरिरहेको उहाँले बताउनुभयो । वडाले टोल टोलमा गएर यसबाट बच्नलाई अपनाउनुपर्ने उपायहरूको बारेमा सबैलाई जानकारी दिएको उहाँले बताउनुभयो । वडामा हाल आपतकालिन काम बाहेक सबै सेवाहरू बन्द भएको छ र जसले गर्दा नागरिकहरूको सन्तुष्ट नरहेको बोहराले जानकारी गराउनुभयो ।

वडाले विभिन्न किसिमका योजनाहरू अघि बढाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विशेषगरी स्थानीय तह, प्रदेश र संघीय सरकारले निर्णय गरेर बजेट पठाउने कुरा हो । हामीले बिना कुनै कमजोरी कार्यान्वयन गरेका छौं ।’

प्रतिक्रिया दिनुहोस्