मन्त्री मगरको पहलमा शहीद गौतमका ३ छोरी काठमाडौँमा भर्ना

मन्त्री मगरको पहलमा शहीद गौतमका ३ छोरी काठमाडौँमा भर्ना

काठमाडौं । नेपाल–भारत सीमामा भएको भिडन्तमा २०७३ साल फागुन २६ गते भारतीय सुरक्षा बलको गोलीबाट मारिएका कञ्चनपुर पुनर्वास नगरपालिका–८ का ३४ वर्षीय शहीद गौतमका तीन छोरीलाई गौतमकी पत्नी लक्ष्मी गौतमको इच्छा र खानेपानी मन्त्री बीना मगरको पहलमा सो शिक्षा सदनमा आज भर्ना गरिएको हो । 

जेठी छोरी १० वर्षीय आकृति र माइली आशुम गौतमलाई कक्षा ५ र कान्छी आषिकालाई युकेजीमा भर्ना गरिएको हो । आमा लक्ष्मी र तीन छोरीलाई हाल बानेश्वरस्थित एक आफन्तको घरमा बसोबासको प्रबन्ध गरिएको छ । तीन छोरीलाई उक्त विद्यालयमा भर्नापछि मन्त्री मगरले भनिन्, ‘राज्यसत्ताको परिवर्तन र देशको मातृभूमिको रक्षाका लागि लड्दा ज्यान आहुति दिएर शहीद भएकालाई हामीले सम्मान गर्नुपर्छ । गौतमको आहुति आफैँमा राष्ट्रभक्तिका लागि एक प्रेरणा हो । उहाँका सन्तानको हेरचाहको जिम्मेवारी हाम्रो पनि हो ।’

उनले तीन छोरीको उच्चशिक्षासम्मको व्यवस्था गर्न आफूहरुले जिम्मा लिने र गोविन्दकी श्रीमती लक्ष्मीलाई जागिर दिलाउने विषयमा पनि आफूहरु संवेदनशील रहेको बताइन् ।
 
विद्यालयका प्रबन्ध निर्देशक तारानाथ उप्रेतीले गौतमका छोरीहरुलाई मन्त्री मगरले सामाजिक जिम्मेवारी लिएकाले उनीहरुलाई भर्ना गरिएको जानकारी दिए । उक्त शिक्षा सदनमा हाल २५० विद्यार्थी छन् । सरकारले गत वर्षबाट शुरु गरेको विद्यार्थी भर्ना अभियानमा प्रधानमन्त्रीदेखि मन्त्री र नेताहरुले सामुदायिक विद्यालयमा विद्यालयबाहिरका बालबालिकालाई अभिभावकत्व ग्रहण गरेका थिए । 

कञ्चनपुर क्षेत्र १ बाट प्रतिनिधिसभामा निर्वाचित मन्त्री मगरले र उनको पार्टीले गौतमका छोरीहरुलाई उच्चशिक्षासम्मको शिक्षा र श्रीमती गौतमलाई रोजगारको जिम्मा लिने घोषणा गरेको थियो । सरकारले गौतमलाई शहीद घोषणा गरी परिवारलाई रु १० लाख उपलब्ध गराइसकेको छ । श्रीमती लक्ष्मीले कुरा गर्दै गौतमको हत्या हुँदा कान्छी छोरी अढाई वर्षकी रहेको स्मरण गर्दै छोरीहरुलाई काठमाडौँ ल्याएर पढाउन पाएकामा सन्तोष व्यक्त गरिन् । 

उनले आफूलाई सरकारले रोजगारी पनि दिएमा काठमाडौँमा गुजारा गर्न सक्ने अपेक्षा जनाइन् । उनले सरकारबाट प्राप्त शहीद घोषणाबापतको रकममा थपेर आफूले जिल्लामा एक कट्ठा जग्गा किने पनि अन्य सम्पत्ति खासै नभएको जनाइन् । कल्भर्ट निर्माणको विषयमा विवाद हुँदा भारतीय सुरक्षा बलको गोली प्रहारबाट गौतमको निधन भएपछि तीन छोरी जिल्लाकै सामुदायिक र निजी विद्यालयमा गरी अध्ययन गर्दै आएका थिए । 

गौतमको हत्यापछि तत्कालीन नेकपा (एमाले)ले आयोजना गरेको मेची महाकाली अभियानको समापनका अवसरमा कञ्चनपुरमा आयोजित जनसभामा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मृतक परिवारलाई रु पाँच लाख दिने र छोराछोरी पढाइदिने वचन दिएका थिए ।  नेताहरुले जिल्लाको आनन्दबजारमा गोविन्दको स्मृतिमा शालिक निर्माणको पनि वचन दिएअनुसार नगरपालिकाले काम शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्