भारतभन्दा पहिला नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुदै

भारतभन्दा पहिला नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुदै

काठमाडौं । भारतभन्दा पहिले नै नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुने भएको छ। खानेपानी मन्त्रालयले आज पत्रकार सम्मेलन गरी असोज १३ गते सोमबार विशेष कार्यक्रममार्फत खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने जानकारी दिएको हो।

नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भएको दुई दिनपछि छिमेकी मुलुक भारतले पनि आफूलाई खुला दिसामुक्त मुलुक घोषणा गर्न लागेको छ। १५ गते भारतले महात्मा गान्धीको जन्मदिनको अवसर पारेर खुला दिसामुक्त घोषणा गर्दै छ।

राष्ट्रिय उत्सवको रुपमा मुलुकलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने निर्णय गरिएको खानेपानी मन्त्री विना मगरले बताइन्। यो सामाजिक उत्थानको क्षेत्रमा निकै ठूलो उपलब्धि रहेको मन्त्रालयको दावी छ।

नेपालका जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने काम सन् २०११ सालबाट सुरु गरिएको थियो। यस अभियान अन्तर्गत सबैभन्दा पहिला कास्की जिल्लालाई घोषणा गरिएको थियो।

सरकारले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेलगत्तै सरसफाई अभियानाई तीव्रता दिने योजना रहेको मन्त्रालयले जनाएको छ।

‘हामीले २०६८ सालमा सुरु गरेको खुला दिसामुक्त मुलुक बनाउने अभियान सफल सावित भएको छ’ मन्त्री मगरले भनिन्, ‘यो अभियानमा सरकारको भन्दा नेपाली जनता र मिडियाको भूमिका धेरै छ। यो कुरा अरु देशका लागि पनि प्रेरणादायी हुन सक्छ।’

कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले खुला दिसामुक्त अभियान स्वास्थ्यसँग जोडिएकाले यसको महत्वलाई सामान्यीकरण गर्न नहुने बताए। सचिव बेल्बासेले जनताको प्रत्यक्ष लगानीले नै यो अभियान सम्भव भएको बताए।

मन्त्रालयका अनुसार हालसम्म देशका कूल ५६ लाख ६० हजार २ सय १४ घरधुरीहरुमा शौचालय बनिसकेका छन्।

‘अहिले नेपालका करिब सबै घरधुरीहरुमा सरसफाइको आधारभूत सुविधा एवं शौचालयको पहुँच पुगेको छ, देशका ७७ वटै जिल्लाहरु खुला दिसामुक्त भइसक्दा हामीले अपेक्षा गरेको लक्ष्य हासिल गरेका छौं’ मन्त्रालयले विज्ञप्तिमा भनेको छ।

प्रतिक्रिया दिनुहोस्