भद्रगोल आजबाट पुन : प्रशारण, बाहिरियो पुरानो टिम, के हो विवाद ?

भद्रगोल आजबाट पुन : प्रशारण, बाहिरियो पुरानो टिम, के हो विवाद ?

काठमाडौँ । ६ हप्ताको अन्तरालपछि नेपाल टेलिभिजनबाट लोकपि्रय हास्य टेलिश्रृंखला भद्रगोल आजबाट पुन प्रशारण हुने भएको छ । तर, निर्देशकद्वय अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीसहितको २१ जनाको समूह भने यस टेलिश्रृंखलाबाट बाहिरिएको छ ।

पाँडे र जिग्रीसहित सागर लम्साल (बले), हरी निरौला (कक्रोच), मधुसुधन पाठक (सितेबा), रक्षा श्रेष्ठ, कमलमणि नेपाल (खुपीका बाउ), गोविन्द कोइराला जस्ता चर्चित्र पात्रहरु अब भद्रगोलमा देखिने छैनन् । आजबाट सुरु हुने श्रृंखलालाई ज्योती काफ्ले र अशोक धितालले संयुक्तरुपमा लेखन तथा निर्देशन गर्ने भएका छन् ।

गत साउन महिनापछि भद्रगोलको नयाँ श्रृंखला प्रशारण हुन सकेको थिएन । कार्यक्रम उत्पादक मिडिया हबले नेपाल टेलिभिजनसित गर्ने वाषिर्क सम्झौताको अवधि असार मसान्तमा सकिएको थियो । त्यसपछि नयाँ सम्झौता गर्ने क्रममा भद्रगोलको कलाकार समुह र मिडिया हबबीच विविध विषयमा कुरा नमिल्दा नयाँ श्रृंखला उत्पादन हुन सकेको थिएन ।

मिडिया हबले नेपाल टेलिभिजनसँग सम्झौता नवीकरण गरे पनि उक्त समयमा पुुरानो एपिसोड दोहोर्‍याउने गरिएको थियो । एक एपिसोडको समयका लागि मिडिया हबले नेपाल टेलिभिजनलाई एक लाख ९७ हजार रुपैयाँ बुझाउनुपर्छ ।

के हो विवाद ?

टेलिश्रृंखलाको उत्पादक मिडिया हबसित विभिन्न विषयमा कुरा मिल्न नसक्दा पाँडे-जिग्री समूह अलग्गिएको हो । मिडिया हबले आफूहरुलाई करिब ८ लाख रुपैयाँ दिन बाँकी रहेको दावी पाँडे-जिग्री समूहको छ । तर, मिडिया हब भने खासै पैसा बाँकी नरहेको बताउँछ ।

अनलाइनखबरसँगको कुराकानीमा अर्जुन घिमिरे -पाँडे) ले भने, ‘बारम्बार ताकेता गर्दा पनि उहाँहरुले हाम्रो हिसाब चुक्ता गर्नुभएको छैन । त्यसैले हामी अब आफ्नो पैसा उठाउन सीडीओ कार्यालयमा उजुरी गर्ने तयारीमा छौं ।’

प्रत्येक एपिसोडको उत्पादन लागतवापत एक लाख ५ हजार रुपैयाँ मिडिया हबले जिग्री-पाँडे समूहलाई दिने गरी दुई पक्षबीच सम्झौता थियो । यसैगरी यूट्यूवबाट हुने आम्दानीको आधा आधा हिस्सा दुई पक्षले लिने गरी सम्झौतामा उल्लेख थियो । उत्पादन खर्च र यूट्यूव खर्च गरी आठ लाख रुपैयाँ बढी आफूहरुले लिन बाँकी रहेको घिमिरे बताउँछन् ।

साथै, मिडिया हबले यूट्यूवबाट भएको आम्दानी पनि अपारदर्शी राखेको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्