बाहिरका व्यक्तिलाई भित्र आउन र भित्रकालाई बाहिर जान दिएका छैनौंः वडाध्यक्ष लामा

बाहिरका व्यक्तिलाई भित्र आउन र भित्रकालाई बाहिर जान दिएका छैनौंः वडाध्यक्ष लामा

हगाम, सिन्धुपाल्चोक । जुगल गाउँपालिकाको वडा नंं ७ ले कोरोना भाइरस नियन्त्रण गर्न विभिन्न कार्यक्रमहरू गरिरहेको छ । नेपालभरी संक्रमणको संख्या बढ्दै गएकोले वडामा पनि संक्रमण बढ्न सक्ने खतरा रहेको वडा अध्यक्ष दिल कुमार लामाले बताउनुभयो । उहाँले संक्रमणबाट बच्न वडाले विभिन्न सावधानीका उपायहरू अपनाउँदै गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेसम्म कोरोनाको प्रभाव यस वडाभित्र परेको छैन । विदेशबाट आउने व्यक्तिहरूलाई गाउँपालिकाकै क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेका छौं । त्यसैगरी वडामा भएका व्यक्तिलाई वडाभित्रै सम्पूर्ण व्यवस्था गर्यौ, काठमाडौँतिर भएका व्यक्तिहरूलाई पनि उही बस्ने व्यवस्था मिलाएर हामीहरूले संक्रमण भित्रन दिएनौं ।’

वडाले महामारी फैलिन नदिन जनताको घरदैलोमा गएर विभिन्न कार्यक्रम गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सुरुको अवस्थामा सरसफाइमा ध्यान दिन प्रत्येक घरघरमा धारो सहितको बाल्टिन र ५÷५ वटा साबुन वितरण गर्यौं । भिडभाड गर्नु हुँदैन, मास्कको प्रयोग गर्नुपर्छ जस्ता जनचेतनका कार्यक्रमहरू वडाबाट समय समयमा गर्यौं । ’ वडाले गरेको कामकार्वाहीबाट हालसम्म सबै सन्तुष्ट नै रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले चुनावमा जे बाचा गरेका थियौं त्यो सम्पूर्ण कुराहरू पुरा गर्दै गइरहेका छौं । त्यसैले यहाँका नागरिक सबै सन्तुष्ट नै छन् । ’ उहाँले गर्त वर्ष सक्नुपर्ने योजनाहरू सबै पुरा गरेको पनि बताउनुभयो । ‘प्रत्येक गाउँगाउँमा मोटर बाटो निर्माण गर्ने लगायत वडामा बुद्ध पार्क स्थापित गरेर वडालाई पर्यटकीय गन्तव्यको रुपमा चिनाउने वडाको विशेष योजना रहेको छ ’ , उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्