प्रदेश प्रहरी प्रमुख डिआइजी हुने, दरबन्दी भने डिएसपी मुनिको मात्रै

प्रदेश प्रहरी प्रमुख डिआइजी हुने, दरबन्दी भने डिएसपी मुनिको मात्रै

काठमाडौं– प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफल सकिएको छ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले दफावार छलफल गर्दै प्रदेश प्रहरी प्रमुखमा प्रहरी नायव महानिरीक्षक (डिआइजी) हुने टुंगो लगाएको हो।

अहिले समायोजन प्रक्रियामा प्रहरी नायब उपरीक्षक (डिएसपी) भन्दामुनिको पदका प्रहरी मात्रै प्रदेश अन्तर्गत रहेनछन्। उक्त पदमाथिका प्रहरीहरू प्रदेशमै कार्यरत रहे पनि संघ अर्थात् नेपाल प्रहरी अन्तरगतको दरबन्दीमा हुनेछन्।

अहिले यसरी समायोजन गरिने भए पनि भविष्यमा प्रहरी उपरीक्षक (एसपी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पनि प्रदेश प्रहरी अन्तर्गत नै रहने सहमति समेत भएको छ। प्रदेश सरकारले ऐन बनाएपछि यी पद प्रदेश सरकार अन्तर्गत रहनेछन्।

प्रहरी कर्मचारी समायोजनका आधार पनि तोकिएका छन्। प्राप्त निवेदनका आधारमा कार्यरत पदको ज्येष्ठता, कम्तिमा एक वर्षदेखि कार्यरत रहेको प्रदेश, हालको स्थायी बसोबासको ठेगाना, नागरिकताको प्रमाणपत्रमा उल्लेखित ठेगाना र उमेरको ज्येष्ठतालाई आधार मानिनेछ।

प्रहरी कर्मचारीको छनोटका आधारमा सम्भव भएसम्म श्रीमान् र श्रीमतिलाई एकै प्रदेशमा समायोजन गरिने व्यवस्था गरिएको छ।

दफावार छलफल भए पनि पास गर्नका लागि अन्तिम प्रतिवेदन बनाउन गृह मन्त्रालयलाई निर्देशन दिइएको छ। आगामी बैठकमा समितिबाट पास गरेर प्रतिनिधि सभा पठाउने निर्णय हुनेछ।

प्रतिक्रिया दिनुहोस्