पालुङटारमा ‘हेलो मेयर’ सेवा

पालुङटारमा ‘हेलो मेयर’ सेवा

गोरखा/ गोरखाको पालुङटार नगरपालिकाले ‘हेलो मेयर’ सेवा सुरु गरेको छ । नगरवासीको गुनासो सुन्न नगरपालिकाले ‘हेलो मेयर’ सेवा सुरु गरेको हो । ‘हेलो मेयर’ का लागि नगरपालिकाले निःशुल्क टोल फ्री नम्बरको व्यवस्था गरेको छ ।

नगरपालिकाको समग्र विकासमा सम्पूर्ण नगरवासी तथा अन्य क्षेत्रका व्यक्तिको राय, सुझाव र गुनासो सिधै नगर प्रमुखसँग राख्न सक्ने गरी आइतबारदेखि हेलो मेयर सेवा शुरु गरेको सूचना प्रविधि इञ्जिनीयर अशोकबाबु श्रेष्ठले जानकारी दिए ।

पैसा नलाग्ने नम्बर १६६०६४४२००२ मा डायल गरेर नागरिकले गुनासो, सल्लाह, सुझाव राख्न सक्ने पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कँडेलले जानकारी दिए ।“सबै नगरवासीहरू कार्यालयसम्म समक्ष आएर गुनासो भन्न सक्ने हुनुहुन्न, धक मान्ने, डराउने पनि हुँदो रहेछ,” उनले भने, “आफ्नो गाउँठाउँको विकास निर्माणका विषय, कामको गुणस्तर, विद्यालयलगायतका सार्वजनिक क्षेत्रका समस्या, सवाल, जनप्रतिनिधीबाट भएका काम र नागरिकको अपेक्षा लगायतका विषयमा उहाँहरूले अब फोनबाट नै सल्लाह, सुझाव तथा गुनासो राख्न सक्नुहुन्छ ।” नागरिकका सुझाव तथा गुनासो रेकर्ड गरिने उनले बताए ।

हप्ताको एक दिन हेलो मेयरमा रेकर्ड भएका गुनासो सुनेर त्यसलाई सम्बोधन गर्ने मेयर कँडेलले बताए । “कार्यपालिकाको बैठकमा नै रेकर्ड भएका गुनासा सुनाउँछु,” उनले भने, “कर्मचारी तथा जनप्रतिनिधिसँग छलफल गरेर गुनासोको सम्बोधन गर्नेछु । कर्मचारीको कमजोरी भए पनि सच्याउन निर्देशन दिन्छु । हामी जनप्रतिनिधिले नै गलत गरेका रहेछौं भने पनि गुनासोका आधारमा सच्चिने मौका पाउछौं ।”
यो कार्यक्रमले विकास निर्माणमा प्रभावकारिता हुनुका साथै पारदर्शिता र सुसासन कायम गर्न सहयोग पुग्ने उनको विश्वास छ । नगरपालिकाप्रति नागरिकको विश्वास पनि बढ्ने उनले अपेक्षा गरेका छन् । संघीय सरकारले हेलो सरकार र प्रदेश सरकारले हेलो मुख्यमन्त्री गरेजस्तै पालुङटार नगरपालिकाले हेलो मेयर सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्