नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा, विमल र भरत अटाएनन्

नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा, विमल र भरत अटाएनन्

काठमाडौं, ७ जेठ । मलेशिया र चाइनिज ताइपेविरुद्धको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि आज नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा गरिएको छ । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक योहान कालिनले विराज महर्जनको कप्तानीमा २३ सदस्सीय नेपाली टोलीको घोषणा गरिएको हो ।

नेपालले आगामी जुन २ मा मलेशियासँग र जुन ६ मा चाइनिज ताईपेसँग खेल्दैछ । फरर्वाड विमल घर्तीमगर र भरत खवास टोलीमा परेका छैनन् । फिटनेसका कारण विमल टोलीमा अटाएनन् भने भरत चोटका कारण समावेश नभएका हुन् ।

त्यस्तै मिडफिल्डर हेमन गुरुङ, डिफेन्डर कमल श्रेष्ठ र दिनेश राजवंशी पनि टोलीमा परेनन् । नेपाली टोलीमा युवा खेलाडी अभिषेक रिजालले पहिलो पटक स्थान बनाए । छनोट हुने अन्य खेलाडीमा गोलकिपर किरणकुमार लिम्बु, विकेश कुथु र एलेन न्यौपाने छन् ।

डिफेन्डर विराज महर्जन, अनन्त तामाङ, सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल, देवेन्द्र तामाङ, अजित भण्डारी र रवि सिलवाल छन् भने मिडफिल्डरमा रोहित चन्द, बिक्रम लामा, सन्तोष तामाङ, सुमन बल, रवि पासवान, सुजल श्रेष्ठ, बिमल राना र विशाल राई छन् । त्यस्तै फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, तेज तामाङ र नवयुग श्रेष्ठ छन् । रासस

प्रतिक्रिया दिनुहोस्