नागरिकदेखि जनप्रतिनिधि सबै मिलेर महामारीको व्यवस्थापन गरिरहेका छौँः मेयर कक्षपती

नागरिकदेखि जनप्रतिनिधि सबै मिलेर महामारीको व्यवस्थापन गरिरहेका छौँः मेयर कक्षपती

प्यूठान । हाल महामारीको रूपमा फैलिदै गएको कोरना भाइरसले विश्वलाई आक्रान्त बनाइरहेको छ । यस महामारीको असर नेपालमा पनि दिनप्रतिदिन बढ्दै गएको छ । यसको रोकथाम तथा नियन्त्रणका लागि नेपालका तीनै तहका सरकार प्रयासरत छन् । तीनै तहका सरकार मध्ये स्थानीय सरकारको भूमिका एकदम महत्वपूर्ण रहेको हुन्छ । यसै सन्दर्भमा नेपाल मिडिया सेन्टरले प्यूठान जिल्ला अवस्थित प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतीलाई नगरपालिकामा कोरोनाको अवस्था कस्तो छ र रोकथामको लागि नगरपालिकाले के कस्ता प्रयासहरू गरिरहेको छ भन्ने प्रश्न सोधेका थियौँ । उहाँले नगरपालिकामा १३१ जनामा कोरोना संक्रमण देखिएको थियो ती मध्ये १२३ जना ठीक भई घर फर्किसर्के भने ८ जना आइसोलेसनमा उपचाररत रहेको बताउनुभयो । संक्रमित व्यक्ति भने सबै भारतबाट आएको मेयर कक्षपतीले जानकारी गराउनुभयो ।


त्यसैगरी हालसम्म नगरपालिकामा ८२७ जनाको पि.सि.आर र २२०२ जनाको आर.डि.टी परीक्षण भइसकेको उहाँले बताउनुभयो । नगरपालिकामा पि.सि.आर परीक्षण अहिले पनि जारी रहेको उहाँले बताउनुभयो । नगरपालिकाले सुरुको अवस्थामा ८६ वटा सम्म क्वारेन्टाइनको व्यवस्था गरेको थियो भने विस्तोरै क्वारेन्टाइनमा बस्नेको संख्यामा कमी आएपछि हाल नगरमा ३ वटा क्वारेन्टाइन उपलब्ध छ । अहिले क्वारेन्टाइनमा बस्नेको संख्या भने ६७ जना रहेको मेयरले बताउनुभयो । सुरुको अवस्थामा महामारीलाई व्यवस्थापन गर्न धेरै अप्ठ्यारो भएको उहाँले बताउनुभयो उहाँले भन्नुभयो, ‘सुरुको अवस्थामा यस महामारीबाट समस्या भएतापनि यहाँका जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र यहाँका नागरिक सबै मिली यो महामारीलाई व्यवस्थापन गर्न केही हदसम्म हामी सफल भएका छौँ । अझै पनि हामी यसको सामना गर्दै अगाडि बढिरहेका छौँ । ’


कोरोनालाई थप नियन्त्रण गर्न प्यूठान नगरपालिकाले टोलटोलमा माइकिङ गरेर सबैलाई सचेत गराइरहेको छ । साबुन पानीले हात धुने, सामाजिक दूरी कायम गर्ने र कसैलाई आफुमा कोरोनाको शङ्का छ वा कोरोनासँग मिल्दो जुल्दो लक्षण छ भने तुरुन्त परीक्षण गर्नलाई नगरपालिकाले आग्रह गरेको छ । साथसाथै ठूलो संख्यामा बाहिरबाट आएका नागरिकलाई क्वारेन्टाइनमा व्यवस्थापन गर्न पनि प्यूठान नगरपालिका सफल भएको मेयर कक्षपतीले जानकारी गराउनुभयो ।

यस महामारीलाई मध्यनजर गर्दै नगरपालिकाले यस वर्ष विभिन्न विकासका कार्यक्रमहरू ल्याएको कक्षपतीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यहाँका नागरिकको स्वास्थ्य सुरक्षाका लागि चाहिने स्वास्थ्य समाग्री व्यवस्थापन गर्ने योजना छ । कृषिलाई व्यवसायको रूपमा लग्न खोजेका छौँ । प्रदेश सरकार र स्थानीय सरकारको सहयोगबाट २८ वटा सटर सहित तरकारी संकलन केन्द्र निर्माण भइसकेको छ । नगरभित्र रहेको खेतीयोग्य बाझो जमिन झण्डै ६०० रोपनीमा खेती गर्न प्रोत्साहन गरेका छौँ । ’ त्यसैगरी हालै मात्र नगरपालिकाको सहयोगमा जिल्लामा ५० बेडको आइसोलेसन तयार भएको समेत मेयर कक्षपतीले जानकारी गराउनुभयो ।


महामारीको समयमा समेत मिडियाले जनतासामु सत्य तथ्य सुचना र समाचार पुर्याउन एकदम महत्वपूर्ण भूमिका खेलेकोले मिडियाप्रति आभारी हुँदै उहाँले भन्नुभयो, ‘मिडियाले स्थानीय तहमा भएको सुचना तथा समाचार, चेतनाका कुराहरू गाउँटोल, समाज, व्यक्तिसम्म पुर्याउने काम गरिरहेको छ । त्यसैले सञ्चारकर्मी तथा मिडियालाई म धन्यवाद दिन चाहन्छु ।’ यस महामारीमा सजग र सतर्कता अपनाउन जरुरी रहेको त्यसैले सरकारले भनेबमोजिम नियम पालना गर्न सबैलाई उहाँले आग्रह गर्नुभयो । महामारीबाट बच्न भेला, सम्मेलन, गोष्ठि जस्ता कृयाकलापहरू नगर्नका लागि नगरबासी तथा आम नेपालीलाई उहाँले विनम्र अनुरोध समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्